प्लेनबाटै लागु औषधी ओसारपसार !
नेपालगञ्ज – भारतबाट विभिन्न तरिकाले लागु औषधी ब्राउनसुगर भित्रिन्छ । त्यो ब्राउनसुगर नेपालगञ्जबाट फेरि विभिन्न तरिकाले अन्यत्र लगिन्छ ।
छिमेकी जिल्लाका कारोबारी नेपालगञ्ज नै आइपुगेको पाइन्छ । कतिपय चाहि तलतल मेटाउन सीमावर्ती भारतीय शहरमै पुग्छन् । नेपालगञ्ज आइपुगेको ‘माल’लाई विभिन्न ठाउँमा पठाउन अनेक उपायहरु प्रयोग गरेको पाइन्छन् ।
राँझा विमानस्थलमा ब्राउनसुगरसहित एकजना पक्राउ परेपछि प्लेनबाट समेत लागु औषधीको कारोबार गरिदोरहेछ भन्ने देखिएको छ । मुगुका पदम मल्ल सामान बुझाउने नाममा विमानस्थल भित्र प्रवेश गर्दा प्रहरीले जाँच गर्ने क्रममा ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो । मल्लले समातेको पोलोथिनभित्र सनसिल सेम्फुसँगै पुडिया बनाएर ब्राउनसुगर राखिएको थियो ।
राँझा विमानस्थलबाट ब्राउनसुगर बरामद भएको यो नयाँ भने होइन । यसअघि पनि बेलाबेलामा पक्राउ परिरहन्थ्यो ।
पछिल्लो दिनमा सुर्खेत, दाङ, दैलेखतिर लागु औषधीको ओसारपसार भइरहेको तथ्यांकहरुले देखाएको छ ।