रौनियार प्यानल पुग्यो जमुनाहा
नेपालगञ्ज – आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले विहीबार जमुनाहाबाट घरदैलो गरेको छ ।
बिहीबार जमुनाहबाट सुरु भएको घरदैलो तथा भेटघाट अभियान चौलिका चोक, क्याम्पसरोड, ट्राफिक चोकलगायतका स्थानमा सम्पन्न गरिएको साझा प्रजातान्त्रिक उद्योग व्यावसायी समूहको प्रचार प्रसार सचिवालयले जनाएको छ ।
सचिवालय संयोजक ध्रुवप्रसाद दाहालका अनुसार, घरदैलो अभियानका क्रममा मतदाताहरुले उद्योग बाणिज्य संघको खस्कदो साँख, व्यवसायिक मुद्दामा देखिएको विचलनबारे चासो र चिन्ता राखेका थिए । त्यसक्रममा ललित कुमार रौनियार नेतृत्वका उम्मेदवारहरुले संघको गरिमा उँचो राख्न र व्यवसायिक सुरक्षा र हकहितका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले दृढताका साथ काम गर्ने विश्वास दिलाउँदै आफ्नो प्यानललाई मतदान गरेर सहयोग गर्न आग्रह गरेका थिए ।
‘आर्थिक समुन्नति सहितको व्यवसायिक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह घरदैलोमा पुग्दा मतदाता उत्साहित भएको सचिवालयले जनाएको छ । समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।