जानकीको सातौ गाउँसभा

नेपालगञ्ज – जानकी गाउँपालिका बाँकेको सातौं (विशेष) गाउँसभा बिहीबार भएको छ ।
उपाध्यक्ष भूमिसरा धितालले पेश गर्नुभएको विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित भएको छ ।
उपाध्यक्ष धितालले गाउँपालिका वडा नं. १ साईगाउँमा सञ्चालन हुने स्मार्ट बाख्रापालन कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको ५० लाखको योजनामा २० प्रतिशत गाउँपालिकाको सहभागितामा व्यहोर्ने, गाउँपालिका भित्रका विभिन्न पूर्वाधार निर्माण आयोजनाहरुको डीपीआर÷आईई गर्नको लागि ७५ लाख आल्या शीर्षकबाट विनियोजन गर्ने, राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएका कार्यक्रम गाउँपालिकाबाट व्यहोर्ने गरी सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
सभाले पाँचौ गाउँसभाबाट पारित विभिन्न बजेट तथा कार्यक्रम समेत संशोधन गरेको छ । यसैगरी उपाध्यक्ष धितालद्वारा प्रस्तुत गाउँपालिकाको लागि एकथान गाडी र एक एम्वुलेन्स खरिदको लागि रकम आल्याको शीर्षकबाट विनियोजन गर्ने, आर्थिक वर्ष ०७४÷७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको ठेक्काहरु रद्द गर्ने, गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत अपुग तलव भत्ता संघीय सरकारसँग माग गर्ने प्रस्ताव पनि पारित भएको छ ।
गाउँसभामा बोल्दै अध्यक्ष रामनिवास यादवले नेपाल सरकारको सुखी नेपाल समृद्ध नेपाल र प्रदेश सरकारको सुखी जनता, समृद्ध प्रदेशको मूल नारालाई आत्मसाथ गर्दै गाउँपालिकावासीको सुखी र समृद्धिका लागि विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दै आएको बताउनुभयो ।
संघ र प्रदेशको नीति तथा योजना, वार्षिक बजेटको उद्देश्य तथा लक्ष्य र नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्त गरेका प्रतिवद्धता समेतलाई मध्यनजर गरी गाउँपालिकाका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य, महिला बालबालिका जेष्ठ नागरिक, दलित तथा जनजातीको समावेशी र सहभागितामूलक योजना तर्जुमा पद्धतिको अवलम्वन गरी प्राथमिकताका योजनाहरु छनौट गरी कार्यान्वयन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकामा ४ दशमलव ८ किलोमिटर पीसीसी सडक निर्माण, १२ किलोमिटर ग्राभेल, ५ दशमलव ५ किलोमिटर नयाँ निर्माण, २ सय मिटर कालोपत्रे, ४ वटा कल्भर्ट, १ दशमलव ५ किलोमिटर नाला, ३ नयाँ विद्यालय भवन निर्माण र गाउँपालिकाको सभाहल निर्माण लगायतका कार्यहरु सम्पन्न भइसकेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्य र समन्वयले जानकी गाउँपालिकामा विकास निर्माणको कार्यले गति लिएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !