पसलको सामान लिन जादा…

पहिल्यै लेखिसकेँ, आर्थिक स्रोत बढाउन बुबाले घरमा सानो चिया दोकान थाप्नुभएको थियो । भारत जान छाडेपछि बुबा चिया दोकानमा व्यस्त हुन थाल्नु भयो । विनायक, साँफेबगर, जयगढ, दर्नाबाट झोलामा सामान ल्याएर बिक्री गर्नु हुन्थ्यो । दोकान ठूलो थिएन, चिया, बिडी, चुरोट, चकलेट र चिनी पाइन्थ्यो । सामान लिन म बुबासँग थुप्रैपटक विनायक बजार गएको छु । पछि बुबा दमको बिमारी हुनुभयो । उकालो–ओरालो हिँड्न बुबालाई गाह्रो हुने भएकाले मैले नै सानो झोलामा सामान ल्याउँथेँ ।
पहिलेको उधारो पैसा तिरेर पुनः उधारो सामान ल्याउँथ्यौँ । एकपटक पुरानो उधारो सामानको पैसा लिएर म विनायक बजार गएँ, नयाँ सामान उधारो ल्याउने गरी । घरदेखि विनायक बजार आउन–जान लगभग चार घन्टा लाग्थ्यो । ल्याउने सामानको लिस्ट बुबाले बनाइदिनु भएको थियो । बाटोभरि सामानको मूल्य र बिक्री गर्दा हुने फाइदाबारे औँला भाँच्दै गएँ ।
साहुजीले सोधे, ‘पहिलेको उधारो रकम ल्याएका छौ ?’
‘ल्याएको छु’ भन्दै मैले तिर्ने उधारो रकम र उधारो लैजाने सामानको लिस्ट उनको हातमा दिएँ ।
साहुजीले भने, ‘ल ठिक छ । पुरानो उधारो पैसा आयो । अबदेखि उधारो दिन्नौ । सामान लैजाने भए पैसा लिएर आऊ ।’
अरु पैसा त थिएन ।
‘पैसा नभए रित्तै फर्केर जाऊ’ साहुजीले ठाडै भने ।
म आकाशबाट खसेझै भएँ । सानै भएकाले न प्रतिवाद गर्न सकेँ, न त कुनै अनुरोध गर्नसक्ने परिपक्वता ममा थियो । नाजवाफ भएर म खाली झोला लिएर रुँदै बाटो लागेँ । घर पुग्दा साँझ भइसकेको थियो ।
केही आशा र सपना बोकेर आएको व्यक्तिलाई रित्तो हात फर्काइदिँदा कति दुःख र पीडा हँुदो रहेछ भन्ने त्यो घटनाले मलाई पाठ सिकायो । प्रायः पसलहरूमा ‘आज नगद, भोलि उधारो’ लेखेको देख्दा मलाई त्यही घटनाले झस्काउँछ ।
ती साहुजी र म अहिले एउटै सहरमा बस्छौँ । उनी नेपालगन्जमै व्यवसाय गर्छन् । कहिलेकसो बाटोघाटोमा देखादेख हुन्छ । तर, हामी एकअर्कालाई नचिनेझैँ व्यवहार गर्छौं । उनलाई देख्दा मलाई उधारो नपाएर रित्तो झोला रुँदै घर फर्किएको दिनको सम्झना आउँछ । ती साहुजीलाई पुरानो कुरा सम्झाइदिउँझैँ जस्तो पनि लाग्छ । अर्को मनले भन्छ, बितेको कुरामा अल्झिनुको के अर्थ छ र ?

(नेपालगञ्जका चर्चित कानून व्यवसायी लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट लिइएको अंश हो यो । क्रियटिभ बुक्सले प्रकाशन गरेको यो पुस्तक पढ्न चाहेमा ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !