मंसीर ६ गते नेपालगञ्ज म्याराथन

नेपालगञ्ज – नेपालगञ्ज म्याराथनको छैठौ संस्करण मंसीर ६ गते हुने भएको छ ।
कोरोना भाइरसका कारण आठ महिनादेखि देशभर नै खेलकुद ठप्प भइरहेका बेला नेपालगञ्ज म्याराथनको छैठौ संस्करण हुने तय भएको हो ।
आयोजक क्रियटिभ ह्याण्ड्सले आइतबार पत्रकार सम्मेलन गरेर मंसीर ६ गते नेपालगञ्ज म्याराथन हुने जानकारी दिएको छ । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले देशको परिस्थिति चुनौतीपूर्ण भएपनि नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिइने बताउनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता गर्नुभयो ।
टाइटल स्पोन्सर केएल दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहप्रायोजक आशिर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
अध्यक्ष ठकुरीका अनुसार, नेपालगञ्ज म्याराथनमा यसपाली दुई वटा इभेन्ट हुन्छन् । फनरनका रुपमा कर्पोरेट रन पनि समावेश गर्ने तयारी रहेको छ ।
यसपाली नेपालगञ्जमा हुने नेपालगञ्ज म्याराथनबाट ओलम्पिक खेलाडी छनौट हुने तय भएको छ । मे महिनामा जापानमा हुने ओलम्पिकमा नेपालगञ्ज म्याराथनमा प्रथम हुने छनौट हुनेछन् ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै, महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता हुनुभयो । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !