‘बहादुरले पनि कहीँ क्रिकेट खेल्छन् ?’

क्रमशः

कोलकाता शिक्षा, खेलकुद र संस्कृतिका लागि प्रसिद्ध थियो । फुटबलमा झन् धेरै प्रख्यात थियो । फुटबलका थुप्रै राम्रा क्लब खुलिसकेका थिए । फुटबलमय वातावरण स्कुलसम्मै पुगेको थियो । निमावि तहमा पढ्दा हामी पनि फुटबल निकै खेल्यौँ । कलिलो उमेरमा फुटबलले आकर्षित गरेको थियो ।
एथलेटिक्सका इभेन्टले पनि तानेकै थियो । क्रिकेटको ब्याट र बल छुने तरखर थियो । खेलमा रमाउने साथीहरू बडा पप्पु, सत्येन्द्र गुप्ता, दिनेश, राजु, छोटा अकबर, बडा अकबर नजिर, असगर, दिलीप आदि थिए । मेरो ठूलो दाइ यमबहादुर क्षत्रीले पनि फुटबल राम्रै खेल्नु हुन्थ्यो । फुटबल र क्रिकेटमा रहर पलाउँदै थियो । बङ्गाली टोलमा क्रिकेट खुबै खेलिन्थ्यो । त्यो देखेर मेरो मनमा पनि रहर जागेको थियो । साथीहरूको लहलहैमा लागेर टोलमा क्रिकेट खेल्ने ठाउँमा पुगेँ ।
क्रिकेट खेलिरहेका मध्ये एक बङ्गालीले सोधे, ‘नाम के हो ?’
‘लेखबहादुर क्षत्री,’ मैले भनेँ ।
‘बहादुरहरूले पनि कहीँ क्रिकेट खेल्छन् ? कतै देखेका छौ ?’
उनले मेरो नाम सुनेरै पत्याएनन् । भारतमा बहादुर भन्नासाथ गोर्खा सैनिक वा घरेलु कामदार वा चौकीदार नेपाली सम्झिइन्थ्यो । म गोर्खा सैनिक थिइनँ, स्कुले फुच्चे विद्यार्थी थिएँ । नेपालमा क्रिकेट खेलिन्न भन्ने ठानेर उनले त्यसो भनेका थिए होलान् । उनले त्यसरी मलाई नपत्याउँदा मेरो रहरमा नराम्ररी ठेस लागेको थियो । एक ढङ्गले म अपमानित भएर फर्केको थिएँ । सँगै, उनले मलाई चुनौती दिएझैँ लाग्यो । घर फर्किंदासम्म मनमा एउटै कुरा खेलिरह्यो ।
क्रिकेट बहादुरहरूले खेल्न नहुने खेल हो र ?
खेलकुदको अरू महत्व र गहिराइ बुझ्ने मेरो उमेर थिएन । तैपनि, ममा क्रिकेट खेलेर यो बहादुरको पनि खेल हो भन्ने देखाउनुपर्छ भन्ने इख कताकता पलायो । मैले मनमनै अठोट गरेँ, म क्रिकेट खेलेरै देखाउँछु ।
बङ्गाली केटाहरूले जिस्क्याएपछि मेरो क्रिकेट रहर दोब्बर बढ्यो । टोलका दुई–चार साथी मिलेर टेनिस बलले क्रिकेट खेल्न थाल्यौँ । बस्तीनजिक खेल्ने ठाउँ भएकाले टाढा जानु पर्दैनथ्यो । एकमाथि अर्को इँट्टा
खप्टाएर स्टम्प (विकेट) बनाउँथ्यौँ । फुर्सद भयो कि क्रिकेट । १० र ११ कक्षा पढ्दा त्यो क्रम निकै बढ्यो । स्कुलमा लेखबहादुर भए पनि मेरो बोलाउने नाम गोपाल थियो । म बायाँ हातले बलिङ र ब्याटिङ गर्थें । सितिमिति आउट हँुदैनथेँ । हत्तपत्त आउट गर्न नसक्ने भनेर साथीहरूले मलाई अन्तिममा ब्याटिङ गर्न दिन्थे ।
टोलभित्रको मैदानमा खेल्दा थुपै्र गाली सुन्नुपथ्र्यो । खेल्न त टेनिस बलले नै खेल्थ्याँै । तैपनि, कहिले कसको झ्याल फुट्थ्यो । कहिले कसलाई लाग्थ्यो । अनेक गाली सुनेर हामीले क्रिकेटको अभ्यास गथ्र्यौं । टोल–टोलका म्याच पनि हुन्थे । मेरो टोल ७५ पल्ली थियो । मैले टोलको टिमबाट खेल्न पाएँ । राम्रो खेलेपछि टोलभरि मलाई चिन्न थाले । सबैसँग राम्रो घुलमिल भयो । बिस्तारै टाढा– टाढाका टोलसँग पनि हामी खेल्न थाल्यौँ । थुप्रैपटक जित्यौँ पनि । जतिजति हाम्रो टोली अघि बढ्दै थियो, मेरो क्रिकेट यात्राले पनि वामे सर्दै थियो ।
त्यतिबेलै हो, मेरो परिचय नुर आलम र जाफर अलीसँग भएको । उनीहरू सेन्ट थोमसमा पढ्थे । यी साथीहरूसँग मिलेर प्रतियोगिता खेल्न थाल्यौँ । भुकैलास पद्दोपुकुर, चौहत्तरपल्ली, काँटापुकुर आदि ठाउँमा क्रिकेट खेल्न गयौँ । त्यतिबेला स्थानीय प्रतियोगिता पनि टेनिस बलमै खेलाइन्थे । यी खेलबाट मैले खेल सुधार्ने धेरै अवसर पाएँ ।
टेनिस बलमा राम्रो खेल्ने खेलाडीको सानोतिनो परिचय मैले बनाइसकेको थिएँ । क्रिकेटको कुरा आउँदा एक अंश चर्चा मेरो खेलको पनि हुन्थ्यो । हाम्रो टिममा टेनिस बलका प्रतियोगितामा लेदर बलका खेलाडी पनि थिए । एकपटक क्रिकेट एसोसिएसन अफ बङ्गालबाट फस्ट डिभिजनमा खेल्ने वाईके चौधरी र उनी सम्मिलित टिमसँग हाम्रो खेल मिलन सङ्घ मैदानमा भएको प्रतियोगितामा भयो । मैले उहाँहरूविरुद्धको खेलमा ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेँ । उनको चर्चा आउट स्विङ बलरका रूपमा थियो । पछि उनले इस्टर्न रेलवेमा जागिर पाए । चौधरीले त्रिपुराबाट रणजी ट्रफी पनि खेले ।
रणजी ट्रफी समग्र भारतकै प्रतिष्ठित प्रतियोगिता मानिन्छ । बङ्गाल क्रिकेटका अर्का क्रिकेटर इमरान खान आएको बेला पनि मैले राम्रै खेलँे । मेरो ‘लेफ्टह्यान्ड बल र ब्याटिङ हेरेपछि मलाई चौधरीले मोहम्मडन स्पोर्टिङ क्लबको कोचिङ सेन्टरमा आउन भने । त्यहाँ मुनब्बर अलीले सिकाउँथे । चौधरी पनि त्यहाँ अभ्यास गर्न जान्थे । चौधरीले भनेका थिए, ‘तिम्रो राम्रो सम्भावना छ । आउँदा राम्रो हुन्छ ।’
मुनब्बर अली त्यसबेलाका निकै ख्याति कमाएका प्रशिक्षक थिए । मोहम्मडन स्पोर्टिङ क्लब भनेको त्यसबेलाको मोहन बगान, इस्ट बङ्गाल र मोहम्मडन स्पोर्टिङ क्लब थियो । मोहम्मडन स्पोर्टिङ क्लबहरू चर्चित क्लब हुन् । ती सबै आफैँमा भारतको ठूलो क्लबमा पर्थे । ती डेम्पो र चर्चिल त्यसपछि आएका
क्लब थिए ।
सन् १९८८ मा म मोहम्मडन क्लबको कोचिङ सेन्टरमा गएँ । प्रशिक्षक मुनब्बर अलीसँग परिचय भयो । ‘मलाई वाईके चौधरीले पठाउनु भएको,’ मैले आफ्नो परिचय दिएँ । उनले मलाई तलदेखि माथिसम्म एकपटक नियाले र भने, ‘पहिले यहाँ उभिएर खेल हेर ।’ मैदानमा अरू खेलिरहेका थिए । मैले दुई दिनसम्म त्यहीँ हेरेर बसेँ । अरू तीन दिन उनले नेट र बल ल्याउने लैजाने काममा लगाए ।
पाँच दिनसम्म सिकाउने सुरसार नै गरेनन् । सायद उनी मभित्रको क्रिकेट सिक्ने इच्छा मापन गर्न चाहन्थे । मेरो इच्छाशक्ति र धैर्यको मापन गर्दै थिए । उनका हरेक निर्देशन पालना गरेपछि उनले छैटौँ दिनदेखि सिकाउने सङ्केत देखाए ।
‘गोपाल लाइन मे खडे हो जाओ,’ उनले आदेश दिए । सुरुमा अरूले ब्याटिङ गरेका बल समात्न मात्र लगाए । क्रिकेट सिक्नु भनेको सुरुमै ब्याटिङ गर्ने हो भन्ने मलाई लागेको थियो । होइन रहेछ । उनले त फिल्डमा दौडाएको दौडाइ पो गराए । यसमा पनि उनले मेरो परीक्षा लिइरहेका थिए । गुरुको आज्ञा शिरोपर नै मेरो कर्तव्य थियो, त्यसैले म विचलित भइनँ । उनीकहाँ पुगेको डेढ हप्तापछि बल्ल उनले बलिङ सिकाउन सुरु गरे । ब्याटिङ त अझ कहिले हो, टुङ्गो थिएन । मैले पहिले पेस बल (मिडियम फास्ट बलिङ) गर्थें । वाईके र मुनब्बर अली दुवै जनाले मेरो उचाइका कारण लेफ्टह्यान्ड स्पिनर बन्न सुझाव दिए । मैले नचाहेरै त्यो स्वीकारेँ । मसँग विकल्प पनि त थिएन ! र, म लेफ्टह्यान्ड स्पिनर भएँ ।
अब मेरो बलिङ सुध्रिएको थियो । केही दिनपछि मैले ब्याटिङको पनि अवसर पाएँ । ब्याटिङमा पनि मेरो आउट नहुने पाराको लेफ्टह्यान्ड नै थियो । त्यसैले मेरो ब्याटिङ पनि वाईके चौधरी र मुनब्बर अलीले मन पराए । ‘तिमीले राम्रो गर्न सक्छौ, तिमीमा पोटेन्सियल छ’ भन्ने आशयमा मेरो पिठमा धाप मार्दै हौसला दिए । प्रशिक्षक मुनब्बर अलीले वाईके चौधरीलाई भनेछन्, ‘तिमीले एकदम राम्रो, मिहिनेती बच्चा ल्याएर राम्रो ग¥यौ । यसले केही गर्न सक्छ ।’ म दैनिक एक घन्टा फिल्डिङ अभ्यास गर्थें । नेटमा डेढ–दुई घन्टा अभ्यास गर्थें । क्रिकेटको नशा लाग्दै थियो । बेलाबेला बङ्गाली केटाहरूलाई सम्झिन्थेँ । र, मनमनै अठोट गर्थें, ‘हो बहादुर पनि क्रिकेट खेल्छन् ।’
खेल हेरेर मुनब्बर सरले मलाई मोहम्मडन स्पोर्टिङ क्लबको जुनियर टिममा छनोट गरे । त्यहाँ दुई टिम थिए, जुनियर र सिनियर । अफ सिजनमा यी दुवै टिम खेल्न बाहिर जान्थे । सिजनका बेलामा रणजी ट्रफी र लिगहरू खेल्थे । सन् १९८८ मा क्यानोपी ट्रफी हुँदै थियो, बैङ्गलोरमा । पहिलोपटक म कुनै कोचिङ सेन्टरको जुनियर टिमबाट त्यसका लागि छनोट भएको थिएँ । क्यानोपी ट्रफीमा मेरो खेल राम्रै थियो । बलिङ राम्रो गरेँ । तीनवटा म्याचमा सात विकेट लिएँ । ब्याटिङ पनि ठीकठीकै रह्यो । मलाई उनीहरूले बलिङमै बढी अपेक्षा गरेका थिए । त्यो पहिलो खेल टुरमा मैले उदीयमान खेलाडीको उपाधि पाएको थिएँ । अहिले पनि सम्झिन्छु, विसनसिंह बेदीको हातबाट पाएको क्रिकेट खेल्दा लगाउने स्वीटर पुरस्कार । बेदी भारतका उत्कृष्ट टेस्ट खेलाडी र भारतका पूर्वकप्तान अनि मजस्तै बायाँ हाते स्पिनर हुन् । उनी पछि भारतीय राष्ट्रिय टिमको प्रशिक्षक पनि भए । त्यो प्रतिस्पर्धाले मेरो खेलको गति नै बदलिदियो । साथीभाइबीच मेरो चर्चा बढ्यो । वाईके, मुनब्बर सर पनि खुसी भए । मजहर अली, इरफान खान, अरिन्दम चौधरी, अरसद बेग, विवेक कपुर, राजश्री चौधरी आदिले मेरो खेलको प्रशंसा गरेका थिए । बैङ्गलोर भ्रमणबाट मेरो हाउभाउ, उठबस, बोलीचाली सबै परिवर्तन भयो । ठूलो प्रतियोगितामा धेरै मानिससँगको भेटघाटले मलाई धेरै सिकाएको थियो । मैदानको अनुभवले आत्मविश्वाससँगै मनोवैज्ञानिक आत्मबल पनि बढ्यो । सबैभन्दा ठूलो कुरा म क्रिकेटर भएँ भन्ने पहिलोपल्ट महसुस भएको थियो । हिजो क्रिकेट मैदानमै मलाई जिस्क्याउने, हाँसोको पात्र बनाउनेहरूलाई मैले मनमनै धन्यवाद दिएँ । सँगै, जवाफ पनि दिएँ– ‘बहादुरले पनि क्रिकेट खेल्छन् ।’
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !