लकडाउनमा नरोकिएको मानव ओसारपसार

कुमार श्रेष्ठ (नेपालगञ्ज) – असारको पहिलो हप्ता । कोरोनाको त्रास थियो, देशमा लकडाउन । यात्रुवाहक सवारी साधन चलेका थिएनन् । पास लिएर निजी सवारी साधनसम्म चल्न दिइएको थियो ।
बाँकेका दुई किशोरी एकाएक घरबाट ‘गायब’ भए । १४ वर्षका दुई किशोरी हराएपछि अभिभावकको ढुकढुकी बढ्यो । दौडादौड गरेर प्रहरी कार्यालय र मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाहरुमा पुगे । खोजतलासका लागि उजुरी÷निवेदन दिए, हुलिया टिपाए ।
भारततिर जाने नाका बन्द नै थियो । त्यसका बाबजुद नाकामा निगरानी बढाइयो । भारतीय नाका बन्द हुँदा आन्तरिक ओसारपसारको केन्द्र काठमाडौंलाई मानिन्छ । काठमाडौंतिर ‘फोकस’ गरियो । नभन्दै दुवै किशोरी काठमाडौंको खाजा घरमा भेटिए ।
फोनमा चिनजान भएको महिलाले किशोरीलाई काठमाडौं पु¥याएकी रहिछन् । ती महिलालाई किशोरीहरुले चिनेका थिएनन् । फोनमा कुरा हुन थाल्यो । कुरा हुँदै गएपछि महिलाले किशोरीहरुलाई राम्रो काममा लगाइदिने प्रलोभनमा पारिन् । कक्षा सातमा पढ्ने किशोरीहरु राम्रो काम र दाम पाइने भएपछि महिलाको विश्वासमा परे ।
कोरोना कहरले देशमा लकडाउन थियो । स्कूल बन्द थिए । राम्रो काम, पैसा र सुख पाइने प्रलोभनमा परेपछि किशोरीहरु महिलासँग हिडेका थिए । किशोरीहरुका अनुसार, उनीहरुलाई गाडीमा काठमाडौं पु¥याइएको थियो । बाटोमा प्रहरीले रोक्दा कागज देखाइन्थ्यो ।
दुवै किशोरीको काठमाडौंबाट उद्धार भयो, बाँके ल्याइयो । किशोरीहरुको कुरा सुन्दा उनीहरुलाई निजी गाडीमा पास बनाएर काठमाडौं पु¥याइएको थियो । हप्ता दिनभित्रैमा उद्धार गरिएकाले किशोरीहरुले जोखिमपूर्ण काम गर्नु परेन ।
असोज २३ गते नेपालगञ्ज नाकामा सल्यानका दुई बालिका फेला परे । १२ वर्षका दुई बालिका फोनैफोनका आधारमा नेपालगञ्जसम्म आएका थिए । उनीहरु भारत प्रवेश गर्ने क्रममा नेपालगञ्ज नाकामा प्रहरी र माइती नेपालका कर्मचारीले रोके । दुई जनामध्ये एकजनासँग मोबाइल थियो । त्यही मोबाइलको सम्पर्कका आधारमा उनीहरु नेपालगञ्जसम्म आएर भारत प्रवेश गर्दै थिए ।
उनीहरु कोही दलालको सम्पर्कमा थिए । नाकामा प्रहरी र माइती नेपालका कर्मचारीले रोक्ने बित्तिकै उनीहरुले आफूहरुले सम्पर्क गरेका सबै नम्बर डिलिट गरिदिए । प्रहरी र माइती नेपालका कर्मचारीले उनीहरु कोसँग कहाँ जान थालेका थिए भन्ने पत्ता लगाउन सकेनन् । बालिकाहरुले पनि भन्न मानेनन् । दलालले त्यही सिकाएको थियो ।
घरबाट बालिका हराएपछि अभिभावकले बाँके प्रहरी र माइती नेपालमा सम्पर्क गरेका थिए । अभिभावकले भने अनुसार नाकामा प्रहरी र माइती नेपालका कर्मचारीले निगरानी गरिरहेका थिए । नभन्दै २३ गते ती बालिका नेपालगञ्ज आइपुगे, भारत प्रवेश गर्नका लागि ।
३८ वर्षकी महिला भारत जादै थिइन् । प्रहरी र माइती नेपालका कर्मचारीले रोके । बुझ्दै जादा उनी फेसबुकको म्यासेन्जरबाट लभ परेको केटालाई भेट्न जादै थिइन् । भारतीयसँग माया बसेर उता जादै गरेकी महिलाको यात्रा अत्यन्तै जोखिमपूर्ण थियो । महिलालाई नाकाबाट फिर्ता गरियो ।
यी तीन वटा फरक–फरक घटना उदाहरणमात्रै हुन् । चैत्र ११ गतेदेखि असोजसम्ममा यस्ता ४३ वटा खोजतलासका उजुरी परेका छन् । छोरी, बुहारी हराएपछि अभिभावकले खोजतलासका लागि प्रहरी र माइती नेपाल, नेपालगञ्जमा उजुरी दिएका छन् ।
कोरोना त्रासले देश लकडाउनमा थियो । सवारी साधन चलेका थिएनन् । बल्ल चल्न थालेका छन् । यस्तो बेलामा मानव दलाल सक्रिय भएर घर–घरबाट छोरी, बुहारी हराउनुलाई महाजोखिम नै मान्नु पर्छ । नाकामा पोष्ट राखेर निगरानी गरिरहेको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बन्दाबन्दीमा चेली हराउने क्रम नरोकिएको बताउनुभयो । ‘नाका बन्द छ । यातायात ठप्प थियो । अहिले खुलेपनि सहज छैन । तर पनि चेली हराएका छन्, कोइरालाले भन्नुभयो, लकडाउनका बेला पनि महिला हराउनुलाई जोखिमपूर्ण मान्नु पर्छ ।’
कोरोनाको कहरपछि विदेश र देशका विभिन्न ठाउँमा रोजगारीमा गएकाहरु फर्किएका छन् । बेरोजगारी बढेको छ । मानव दलालले यसको फाइदा उठाएर महिलालाई फन्दामा पारेका छन् । कोइरालका अनुसार, लकडाउन र यसपछिका ओसारपसारले आन्तरिक बेचबिखनमा बढावा भएको छ ।
मानव दलालले देशमा परेका हरेक विपतिको फाइदा उठाउने गरेको पाइन्छ । देशमा महाभुकम्प जादा होस् या अहिले कोरोनाको त्रास, मानव दलाल सक्रिय भएको सम्बद्ध अधिकारीहरुको निष्कर्ष रहेको छ । ‘विपति पर्दा मानव दलालले सहजै प्रलोभनमा पार्न सक्छन् । २०७२ सालको महाभुकम्पमा जस्तै अहिले कोरोना कहरमा पनि मानव दलाल सक्रिय भएछन्, कोइरालाको भनाई छ, विपतिमा सहयोगका नाममा दलाल सम्पर्कमा पुग्छन् । जालमा पार्छन् ।’
लकडाउनमा पनि महिला हराएका निवेदनहरु धेरै आउनुले आन्तरिक बेचबिखन बढेको देखिन्छ । यद्यपि, कतिपय घटनामा माया प्रेम बसेर भागी विवाह गरेकाका अभिभावकहरु पनि खोजतलासका लागि निवेदन दिन आउने गर्दछन् ।
लकडाउनले बेरोजगारी बढाएपछि राम्रो काम र दाम दिलाइदिन्छु भन्नेसँग विश्वासमा परेका धेरै छन् । लकडाउन अघिसम्म बाँकेमा पर्ने यस्ता खोजतलासका निवेदनहरु प्रायः तेस्रो मुलुक गएकाहरुको परिवारले दिने गर्दथे । घरपरिवारकै सल्लाह वा आफै तेस्रो मुलुक पुगेका महिलाको केही समयपछि वा शुरुबाट नै सम्पर्क नभएपछि खोजतलासका लागि निवेदन दिने गरिन्थ्यो । तेस्रो मुलुकमा पुगिसकेका महिलाको उद्धार गर्नु कठिन हुने गरेको छ । तेस्रो मुलुक जाने भनेर भारत पुगेका कतिपय चाहि जोखिमपूर्ण काममा परेको पाइन्छ । कोरोना कहरसँगैको लकडाउनमा भारत तथा तेस्रो मुलुक भन्दा पनि आन्तरिक ओसारपसार बढेको कोइरालाको बुझाई छ ।
बाँके प्रहरी कार्यालयमा खोजतलासका लागि पर्ने निवेदनमा अधिकांश भागी विवाह गरेर जाने गरेको महिला सेलकी प्रहरी सहायक निरीक्षक सुमित्रा रानाको भनाई छ ।
(इन्जाको सहयोगमा)


error: यो सुविधा उपलब्ध छैन !