वीराङ्गना देवी कात्यायिनी

या देवी सर्वभुतेष शक्ति रुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम :
आदिशक्तिको पृजनको अर्थात नवरात्र पृजनको छैठौं दिन श्रद्धा भक्तिका साथ पृजा गरिने देवी हुन्, कात्यायनी माता । नव दुर्गामा सबैका आ–आफ्नै महत्व र योगदान छन् । श्री दुर्गा सप्तशती चण्डीमा वर्णन भए अनुसार, यी सबै भन्दा शक्ति शालिनी, दृढ र परम कल्याणकारिणी हुन् । कात्यायनी शब्दको अर्थ हेर्ने क्रममा अमरकोषमा कात्यायिनी शब्दको अर्थ पार्वती छ । संस्कृत शब्द कोषमा यो नामको अर्थ उमा गौरी, काली, हेमावती र ईश्वरी छ । शाक्त सम्प्रदायमा उनलाई शक्ति अर्थात दुर्गा भद्रकाली र चण्डीका पनि भनिएको छ ।
यजुर्वेदको तैतिरीय अरण्यकमा पहिले उनको उल्लेख गरिएको छ । स्कन्द पुराणमा पनि परमेश्वरीको नैसर्गिक क्रोधबाट उप्पन्न भएकी भनिएको छ । देवी पार्वतीद्वारा दिइएको सिंहमा आरुढ भएर महिषासुरको वध गरेकी थिइन् । यी भगवती शक्तिकी आदिरुपा हुन् भनेर पतजलीको महाभाष्यमा उल्लेख गरिएको छ ।
यो वर्णन इशा पूर्व दोश्रो शताब्दीमा लेखिएको थियो । त्यसैगरी मारकण्डेयजीले आफ्नो मारकण्डेय पुराणमा ४०० देखि ५०० इशवी सन् तिर लिपिबद्ध गरेका थिए । वौद्ध र जैनका साथै कतिपय तान्त्रिक ग्रन्थहरु र विशेषरुपले कालिका पुराण (१० वि शताब्दी) मा पनि देवी कात्यायिनीको उल्लेख छ । कालीका पुराणमा उद्यान अर्थात उडिसामा देवी र जगन्नाथजीको स्थान भनिएको छ । दुर्गा पूजाको छैठौँ दिन उनको पूजा हुन्छ । यो पनि भनिन्छ की त्यो दिन साधकको मन आज्ञाचक्रमा स्थित हुन्छ । जसको योग साधनामा अत्यन्त महत्वपूर्ण स्थान छ । आज्ञाचक्रमा मन स्थिर गर्न सक्ने साधकले माता कात्यायिनीको चरणमा आफ्नो सर्वस्व निवेदित गर्न सक्छ । यो पनि भनिन्छ कि परिपूर्ण आत्मदान गर्ने साधकलाई माताले सहजभावले दर्शन दिनुहुन्छ ।
माताको मृत्युलोकमा अवतरणबारे धेरै किसिमका मान्यताहरु छन् । उनीहरुका अनुसार असुरसित देवताहरुको एक सय वर्षसम्म घोर संग्राम भयो । असुर स्वामी महिषासुर थियो भने देवताका स्वामी इन्द्रदेव थिए । त्यस युद्धमा देवगणको पराजय भयो । त्यस उपरान्त पराजित देवगणहरुले ब्रम्हजीलाई अघि लगाएर श्री विष्णु र श्री शंकर भगवानहरु विराजमान भएको स्थानमा लगे र उहाँहरुसित आफ्नो समस्याबारे बिन्ति चढाए ।
यो सुनेर भगवान विष्णु, भगवान शंकरका साथै अन्य देवगण सबै क्रोधित भए । यसरी उनीहरु क्रोधित भए पछि भगवान श्री विष्णु कोपपूर्ण मुखबाट एउटा डरलाग्दो तेज प्रकट भयो अनि ब्रम्हको मुखबाट पनि महान तेज निस्क्यो । शंकर र इन्द्रादी देवताहरुको शरीरवाट पनि ठूलो तेज निस्क्यो र सबै मिलेर तेज पूज बन्यो । त्यो शक्तिबाट इश्वरीको प्राकट्य भयो भन्ने उल्लेख छ । यी नै देवी कात्यायिनी भगवती थिइन् । जसले महिषासुरको वध गरिन् । कतिपय स्थानमा कात्यायिनी भगवतीले महिषासुर वध गरिन् भनिन्छ भने दुर्गा सप्तशती चण्डीमा केही फरक मत छ ।
यहि पुस्तकको चौथो अध्याय श्लोक नं. ४० देखि लेखिएको छ की सबै लोकको रक्षार्थ गौरी देवीको शरीरवाट शुम्भ निशुम्भको वध गर्न कात्यायिनी प्रकट भइन् भनेर । यी दानवले पनि सम्पूर्ण स्वर्ग र मत्र्यमा विजय प्राप्त गरी सबैका अधिकार एवम यज्ञभागमा समेतमा एकाधिकार गरेर बसेका थिए । भगवतीको वाचा अनुसार (स्मरण गरेमा पुनः प्रकट हुने) अनेक आराधना र स्तुती पश्चात पार्वतीको देह कोषवाट उनको प्रादुर्भाव भएको थियो । त्यसपछि पार्वतीको शरीरको वर्ण कालो भयो र उनलाई कालिको भनियो । यी देवीलाई आठौ अध्यायको २९ वाँ श्लोकमा कात्यायिनी भनिएको छ । दुर्गा सप्तशती चण्डीको ११ औँ अध्यायको (४०–४३) नम्बरको श्लोकहरुमा आदि शक्तिले देवताहरुलाई ‘संसारको निम्ति उपकारक वर अवश्य दिने छु’ भनेकी छन् । साथै ‘वैवस्वत मन्वन्तरको अट्ठाइसौ युगमा शुम्भ र निशुम्भ दुई दैत्य उत्पन्न हुनेछन् अनि म नन्द गोपका घरमा अर्की पत्नी यशोदाको गर्भवाट अवतीर्ण भई विन्ध्याचलमा गएर बस्ने छु । उक्त दुवै दैत्यको नाश गर्ने छु’ भनेकी छन् भने अनन्यवाद दर्शनका प्रणेता, यजुर्वेदको अंगिससायनका जन्म दाता बररुची अर्थात ऋषि कात्यायन निसन्तान थिए । उनले वर्षौसम्म सपत्नी आदि शक्तिको उपासाना गरे । उनीहरुको भक्तीबाट देवी प्रशन्न भइन् र ‘म तिम्रो घरमा पुत्रीको रुपमा जन्म लिने छु’ भनेर बरदान दिइन् । निश्चित समयमा उनीहरुको घरमा कन्यारत्नको प्राप्ती भयो । यसप्रकार ऋषि कात्यायनकी पुत्री भएकाले उनको नाम कात्यायिनी पर्न गएको भन्ने पनि मान्यता छ । उनी ब्रजमण्डलकी अधिष्ठात्री हुन् । श्रीमद्भागवत महापुराणको चीर हरणबारे उल्लेख गरिएको अध्यायमा गोपिनीलेहरुले यिनै कात्यायिनी देवीको व्रत गरेका थिए । यसरी माताको प्राकट्यबारे प्रशस्त फरक मत र समयकाल पनि फरक–फरक उल्लेख भएको पाइन्छ । त्यसकारण गर्दा माताबारे अझै गहन खोज र अनुसन्धान हुनु आवश्यक छ ।
उनको मन्दिरको छेउमा नीमको वृक्ष रोप्ने प्रचलन छ । यसको पनि आफ्नै महत्व छ । माता कात्यायिनी महान वीरांगना, स्वयमप्रकाश र शक्तिस्वरुपा हुनको साथै उनी साह्रै दयालु र परोपकारीणी थिइन् । उनले समाज कल्याणका कतिपय कार्यहरु गरेर मानव सभ्यतालाई जोगाउने काम गरेकी थिइन् । भनिन्छ कि यी असुरहरुले समाजमा बिफर रोगको जीवाणु फैलाएर मानव जीवनको विमत्स र चीर कालिन हत्या गर्ने अवस्थाको सिर्जना गरेका थिए । अधिकांश मानव जीवन संकटमा प¥यो । धेरैले मृत्युबरण गरे । सिंगो मानव समाजको जीवन रक्षा चुनौतीपूर्ण बन्यो । त्यो महामारीबाट मानव समाजलाई मुक्ति दिन माताले अध्ययन र अनुसन्धान गरेर विफरको उपचार नीमको पातबाट हुने कुरो पत्ता लगाइन् । यसरी नीमले विफर रोगको उपचार गरेर मानवताको रक्षा गरिन् । विफरलाई शीतला पनि भनिन्छ । शीतला रोगको उपचार गरेर मानव जीवनको रक्षा गरेकी हुनाले उनलाई शीतला माता पनि भनिन्छ ।
उनी महान वीरांगना थिइन्, योद्धा थिइन् । शुम्म र निशुम्म दैत्यहरुले देवहरु र मानवहरुमा विजय प्राप्त गरी देवताका सवै वहुमूल्य वस्तुहरु राज्य र शक्तिको उपयोग गर्नुका साथै देव र मानव समाजमा आतंकको सिर्जना गरे । यिनको आतंकवाट मुक्ति कसैवाट सम्भव थिएन । सिंह वाहिनी माता कात्यायिनीले आफ्ना अनेक स्वरुपशक्ति योगिनी, चामुण्डा, नारसिंही वाराही, कौमारी र उग्रचण्डिका (चण्डिका)को रुप धारण गरी शुम्भको सेनापति धुम्रलोचनको वध गरिन् । त्यसै गरी चण्ड मुण्ड र रक्तवीज आदि दैत्यहरुको वध गर्नुका साथै शुम्भका करोडौ सेनाहरुको वध गरी अन्तमा निशुम्भ र शुम्भको वध गरेर देव तथा मानव जातिको रक्षा र कल्याण गरेकी थिइन् । यस्ती अति कल्याणकारिणी देवीलाई सतसत नमन छ ।


error: यो सुविधा उपलब्ध छैन !