‘हिन्दु संस्कार’ कक्षा
नेपालगञ्ज – पहिला–पहिला गाउँगाउँमा प्रौढ शिक्षा कक्षा सञ्चालन हुन्थ्यो । निरक्षरलाई साक्षर गराउने सरकारी अभियान थियो त्यो । हो, यही शैलीमा ‘एकल विद्यालय’को नाम दिएर अहिले गाउँगाउँमा हिन्दु धर्म–संस्कार सिकाउने अभियान चलिरहेको छ । यो प्रौढ शिक्षाजस्तो सरकारी अभियान भने होइन । प्रौढ शिक्षामा प्रौढले पढ्थे भने एकल विद्यालयमा बालबालिका पढ्छन् ।
‘च्यापिदै’ गएको हिन्दु धर्म–संस्कारको ‘रक्षार्थ’ र बालबालिकालाई सानैदेखि हिन्दु रीतिरिवाज, देवीदेवता, चाडपर्वकाबारेमा सिकाउन एकल विद्यालयको अभियान थालिएको हो । अभियान बाँकेसहित ५४ जिल्लामा चलिरहेको छ ।
२०५३ फाल्गुन १३ गते धादिङको मलेखुबाट शुरु भएको एकल विद्यालय अभियान ५४ जिल्लामा फैलिदा ४८ हजार ६ सय ३९ जना शिक्षित भएका छन् । त्यसमा २३ हजार ४४ छात्र र २५ हजार ५ सय ९५ छात्रा छन् । १ सय ६२ जना सुपरभाइजर, एक हजार नौ सय २४ जना शिक्षकले ५ देखि १४ वर्षका बालबालिकालाई हिन्दु संस्कार सिकाइरहेका छन् ।
बहुसंख्याक हिन्दु भएको नेपालमा बालबालिकालाई सानैदेखि हिन्दु, धर्म–संस्कार, रीतिरिवाज, चाडबाड, देवीदेवताकाबारेमा जानकारी गराउन गाउँगाउँमा २५÷३० जना बालबालिकालाई जम्मा पारेर कक्षा दिइने गरिएको छ । बाँकेमा यस्ता ६० वटा विद्यालय छन् । प्रत्येक गाउँपालिकामा १५ र उपमहानगरपालिकामा ३० वटा विद्यालय पु¥याउने जनकल्याण प्रतिष्ठान नेपाल, एकल अभियानका राष्ट्रिय सहगतिविधि प्रमुख सुदामा यादवले बताउनुभयो ।
एकल विद्यालयमा पढाइने कोर्स नै बनाइएको छ । त्यसमा नैतिकता, देश र राष्ट्रभक्तिलाई समेटिएको छ । ‘हिन्दु धर्म संस्कारको जगेर्ना गर्नुका साथै नैतिकवान समाज निर्माणमा एकल विद्यालय अभियानले सघाउ पु¥याउँछ, राष्ट्रिय सहगतिविधि प्रमुख यादवले भन्नुभयो, बिहान उठेर आमाबुवालाई ढोग्ने, सूर्यलाई जल चढाउने, देवी देवता, चाडबाडका बारेमा सिकाउँछौं । साप्ताहिक रुपमा सत्सग र भजनकिर्तन पनि हुन्छ ।’
ओमप्रकाश सर्राफ अध्यक्ष, टीका पहाडी उपाध्यक्ष, महावीर धिरौया महासचिव र सुनिल अग्रवाल कोषाध्यक्ष रहेको जनकल्याण प्रतिष्ठान नेपाल, एकल अभियानले हिन्दु धर्म, संस्कार, रीतिरिवाज, चाडबाडको महत्व बढाउने काम गरेको छ । धर्मपरिवर्तन र आधुनिकताको नाममा आफ्नो धर्म संस्कार बिर्सिने परिपाटीलाई तोड्न अभियानले कोसिस गरिरहेको छ । भारतको नागपुरबाट तालिम लिएर आउनेहरुले अरुलाई तालिम दिने गरेका छन् ।