जेष्ठ नागरिकलाई सम्मान
नेपालगञ्ज – ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा नेपालगञ्जको वडा नं. १३ मा दुई जनालाई सम्मान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को जेष्ठ नागरिक समाज तथा मिलन केन्द्रले सोही वडाका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सेनाका पूर्व सुबेदार ९६ बर्षिय बलबहादुर खड्का र समाजसेवी ८६ बर्षिया सुशीला गौतमलाई केन्द्रले उहाँहरुको घरघरमा गएर सम्मान गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा उहाँहरुलाई सम्मान गरिएको सोही वडाका वडा अध्यक्ष बीरेन्द्रबहादुर शाहले बताउनु भयो । छुट्टाछुट्टै गरिएको सम्मान कार्यक्रममा केन्द्रका अध्यक्ष विष्णु सुवेदीले दोसल्ला र कदरपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो । त्यस अवसरमा सम्मानित हुनेले पुरानो पुस्तालाई सम्झने परिपाटीले नै समाजलाई नैतिकवान र चरित्रवान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।