सिडिओ सा‘प कहाँ छन् ८३ जना सिकिस्त विरामी ?
नेपालगञ्ज – सिकिस्त विरामीलाई भेन्टिलेटरमा राखिन्छ । नेपालगञ्जका अस्पतालमा यो समाचार लेख्दासम्म भेन्टिलेटरमा राख्नु पर्ने बिरामी छैनन् । स्वास्थ्य अधिकारीहरुले कोरोनाका विरामीलाई तीन चरणमा राख्ने गर्दछन् । सिकिस्त भनेका विरामीलाई भेन्टिलेटरमा राख्नु पर्छ, यो तेस्रो चरणका विरामी हुन् ।
दश जनाजति मध्यम खालका बिरामी छन् । निमोनिया देखिएका विरामीलाई मध्यम खालको मान्ने गरिएको छ । मध्यम खालका विरामीलाई चाहिएको बेलामा अक्सिजन दिन मिल्ने बेडहरुमा राखिएको छ ।
यी दश जना चिन्ह लक्षण देखिएका विरामीमा पर्छन् । मेडिकल कलेज, कोहलपुरमा सात र भेरी अस्पतालमा तीन जना यस्ता विरामी छन् ।
कोरोना लागेका विरामीकै कुरा गर्ने हो भने ३ सय ८६ जना आइसोलेसनमा रहेका छन् । दश जनाबाहेक अरुमा चिन्ह लक्षण देखिएको छैन, सामान्य छन् ।
यो बाँकेको शुक्रबार अपरान्हसम्मको यथार्थ हो । यसलाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ किन बढाईचढाई गर्न उद्धृत हुनुहुन्छ ? एकथरीले प्रश्न गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारीले विहान एउटा पोष्ट गर्नुभयो, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत सिकिस्त ८३ जना कोभिडका विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
सिकिस्त भनेको तेस्रो चरणको विरामी हुन्, जबकी शुक्रबार यस्ता विरामी जिल्लामा छदै छैनन् । प्रमुख जिल्ला अधिकारीले ८३ जना सिकिस्त देखाउँदै हुनुहुन्छ । होइन, शुक्रबार र शनिबार लगाउन थालिएको निषेधाज्ञालाई बल पुग्ने गरी स्टाटस लेखिएको हो भने भन्नु केही छैन, नत्रभने प्रमुख जिल्ला अधिकारीले हुँदै नभएको स्टाटस लेख्नु कतिको सान्दर्भिक होला ? जिल्लामा चिन्ह लक्षण देखिएका नै ८३ जना छैनन् । सिकिस्त कहाँबाट आए ?