भन्सार कार्यालय नाकातिर सारिने
नेपालगञ्ज – अर्थमन्त्री युवराज खतिवडाले नेपालगञ्ज भन्सार कार्यालयलाई नाकातिर सार्नु पर्ने बताउनु भएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयको अनुगमन गर्दै अर्थमन्त्री खतिवडाले भन्सार कार्यालय भन्दा उता घरहरु हुन नहुने बताउनुभयो । नेपालगञ्ज भन्सार कार्यालय दशगजादेखि करिव एक किलोमिटरको दुरीमा रहेको छ । यद्यपि, छोटी भन्सार दशगजा नजिक राखिएको छ ।
भन्सार निरीक्षण अनुगमनका क्रममा अर्थमन्त्री खतिवडाले राजश्व बृद्धि र चोरी नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भन्सार कार्यालय भन्दा उता घरबस्ती हुन नहुने भएकाले त्यसै अनुसार अघि बढ्ने कुरा राखिएको बताउनुभयो । ‘भन्सार सार्नका लागि बजेट स्टीमेड गरेर पठाउन भनिएको छ, भन्सारका प्रमुख निरौलाले भन्नुभयो ।
अर्थमन्त्री खतिवडाले नेपालगञ्ज भन्सार र आन्तरिक राजश्व कार्यालयको अनुगमन निरीक्षण गर्नु भएको थियो । टोलीमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, राजश्व विभागका महानिर्देशक विनोद कुँवर रहेका थिए ।
अर्थमन्त्री खतिवडालाई नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतको टोली नेपालगञ्ज विमानस्थलमा पुगेर स्वागत गरेका थिए । व्यापारीहरुले नेपालगञ्ज–दिल्ली उडान, एकीकृत भन्सार जाँच, नौबस्ता औद्योगिक क्षेत्र, घिउ निकासीलगायतका विषय अवगत गराएको अध्यक्ष बैश्यले जानकारी दिनुभयो ।