बोर्डको निर्णय, ‘मनमोहन ताल’

नेपालगञ्ज – वाटरपार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गरिदैछ । नेपालगञ्ज आउने बाह्य या आन्तरिक पर्यटकहरु दिल बहलाउन वाटरपार्क पुगुन् भन्ने उद्देश्य राखिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा त्यो सम्भव पनि रहेको छ ।
नेपालगञ्जको केही घुमफिर गर्ने ठाउँमध्येमा वाटरपार्क पहिलो वा दोस्रोमै पर्ने विश्वास गरिएको छ । त्यही विश्वासका साथ वडा कार्यालय तलाउको सरसफाई, छेउछाउमा हरियाली, फोहोरादेखि बोटिङसम्मको योजनाका साथ अघि बढेको छ ।
वाटरपार्कलाई पुनर्जिवित गराइरहदा यसको इतिहास पनि खोतल्न आवश्यक हुन्छ । त्यहाँ पुग्ने पर्यटकले वाटरपार्क कसरी बनेको रहेछ, यसलाई पहिला के नामले चिनिन्थ्यो, कति सालमा वाटरपार्क कस्तो थियो भन्ने जान्ने मौका पाउनु पर्छ । त्यसैपनि पछिल्लो समयमा पर्यटकीय स्थलमा पुग्ने विद्यार्थी वा सबैले त्यो ठाउँको इतिहास उतार्ने प्रयास गर्छन् नै ।
पाँच दशक बढीदेखि धम्बोझीमा बस्दै आउनु भएका डम्बर थापाका अनुसार, यो ठूलो ताल थियो । नेपालगञ्ज आसपासका मानिसहरु नुहाउन, कपडा धुन आउँथे । तलाउ भनिन्थ्यो, नामाकरण गरिएको थिएन ।
२०५४ सालपछि तालको कायापलट भयो । स्थानीय तहका जनप्रतिनिधिले यो तलाउलाई पर्यटकीय स्थलको रुपमा विकास गरे । यो बेलाको वडाध्यक्षसमेत रहेका थापाले तलाउको नामाकरणदेखि सौन्दर्यकरण गरेर पर्यटकीय स्थल बनाएको स्मरण गर्नुभयो । त्यतिबेला पनि नेपालगञ्जको मेयर डा. धवलशमशेर राणा नै हुनुहुन्थ्यो । नगरपालिकाको बोर्ड बैठकले तलाउलाई ‘मनमोहन ताल’ नामाकरण गर्ने निर्णय गरेको थियो । मनमोहन ताल लेखेको शिलालेख अहिले पनि तलाउको परिसरमै रहेको छ ।
२०५४ देखि २०५९ सम्म मनमोहन ताल सफा थियो । तलाउको बीचमा फोहोरा थियो । डुंगा चल्थ्यो । वरिपरि हरियाली थियो । त्यतिबेला धम्बोझीका रमेश मल्लले बनाएको मनमोहन तालको भिडियो हेर्दा जो कोहीको मन आनन्द हुन्छ नै । त्यही पुरानो स्वरुपमा तालको विकास गरिदैछ ।
दुर्भाग्य, २०५९ पछि जनप्रतिनिधि हटे । मनमोहन तालको दुरगति हुँदै गयो । संरक्षण गर्ने कोही भएनन् । तलाउको सौन्दर्य हट्दै गएर फोहोर तालको रुपमा विकास भयो । अहिलेजस्तो सञ्चारको पहुँच नभएकाले मनमोहन तालको प्रचार प्रसार हुन सकेन ।
इतिहास मेट्नु हुँदैन । त्यतिबेला नगरपालिका बोर्ड बैठकले गरेको निर्णय अनुसार नै तलाउको नाम मनमोहन ताल भनेर नै जानु पर्छ । इतिहास बचाएर अगाडि बढ्नु पर्छ । यसले भावी पुस्तालाई इतिहास बुझ्न सहज बनाउँछ ।
(वडा नं. १ ले असारमा प्रकाशन गरेको ‘धम्बोझी’ नामक पुस्तकबाट)


error: यो सुविधा उपलब्ध छैन !