जसलाई कोरोना देखिएपछि खैलाबैला भयो, उनीहरु डिस्चार्ज

त्रिभुवनचोकमा गरिएको स्वाव संकलन ।

नेपालगञ्ज – ‘मलाई केही भएको छैन । म १४ दिनसम्म आइसोलेसनमा बसेपछि मेरो कोठा भाडा कसले तिरिदिन्छ ?’ कोरोना संक्रमण देखिएकी बर्दियाकी चौधरी थरकी किशोरीले स्वास्थ्यकर्मीलाई भनिन्, म त मजदुरी गरेर खाने मान्छे ।’
नेपालगञ्जको त्रिभुवनचोकमा कामका लागि गएको बेला जाँच गर्दा बर्दियाकी यी किशोरीमा कोरोना पुष्टि भएको थियो । नेपालगञ्ज–१२ मा कोठा भाडामा बस्ने यी किशोरीले कोरोना पुष्टि भएको थाहा पाएपछि मोबाइल अफ गरेर बसेकी थिइन् । जसलाई खोज्न प्रहरी र स्वास्थ्यकर्मीलाई दुई दिन लागेको थियो ।
जब उनले मोबाइल खोलिन् । तब स्वास्थ्यकर्मीले भेटाए । त्यसबेला किशोरीले माथिको मर्मस्पर्सी वाक्य भनेकी थिइन् । उनले दैनिक ज्यालादारी गरेर खाने र कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै आइसोलेसनमा जान इच्छा गरेकी थिइनन् । तर, कोरोना पुष्टि भएपछि आइसोलेसनमा जानै पर्ने भएकाले स्वास्थ्यकर्मीले लगे । त्यही किशोरी आज डिस्चार्ज भएकी छन् ।
यी किशोरीसँगै त्रिभुवनचोकमा मिठाई पसलमा काम गर्ने र आन्तरिक राजश्व कार्यालयका कर अधिकृत डिस्चार्ज भएका छन् । मिठाई पसलमा काम गर्ने ३९ वर्षीयबाट धेरैलाई कोरोना सरेको पाइएको थियो । त्यसो त जुम्ला घर भएका ३३ वर्षीय कर अधिकृतलाई कोरोना देखिएपछि आन्तरिक राजश्व कार्यालयमा दर्जनलाई कोरोना देखिएको छ । आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टरको रुपमा परिणत गरिएको छ । त्रिभुवनचोकका मिठाई पसलमा काम गर्ने मजदुर र आन्तरिक राजश्वका कर अधिकृतलाई कोरोना देखिएपछि नेपालगञ्जमा यसकारण खैलाबैला भयो कि त्यसपछि उनीहरुको सम्पर्कमा आएको भन्दै जाँच गरिएका धेरैलाई कोरोना देखियो ।
बाँकेबाट शनिबार तीन जना कोरोनामुक्त हुँदा अब आइसोलेसन सेन्टरमा एक सय ४६ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !