‘जन्मदिन’ भन्दा ‘पुनर्जन्म दिन’मा उत्सव
नेपालगञ्ज – ‘खाली दिमाग सैतानका घर’ फुर्सदमा रहेका नेपालगञ्जका सहदेव श्रेष्ठलाई पनि मदिरारुपी सैतानले गाँज्नु गाँज्यो । नेपालगञ्जको चर्चित स्कूल एञ्जल्समा २५ वर्ष शिक्षक भएर सम्मानित जीवन बिताएका उनी त्यहाँबाट हटेपछि खाली मात्रै भएनन्, ‘अल्कोहोलिक’ नै भए ।
उनी साथीभाईको संगतले मदिराप्रेमी बने । नराम्ररी फसे । मदिराले उनको मात्रै होइन, घरपरिवारकै सम्मान गिरायो । एक समय यस्तो आयो कि ‘अब बाँच्दैन’ भन्नेसम्म भयो । आजित भएका घरपरिवारले उनलाई नवकिरण पुनस्र्थापना केन्द्रमा पठायो । एक महिनाका लागि पुनस्र्थापना केन्द्रमा पुगेका श्रेष्ठ त्यहाँको वातावरणले गर्दा पाँच महिना बसे । ‘नवकिरणमा गएपछि मलाई यत्ति आनन्द र शान्ति मिल्यो कि म थप चार महिना बसे, श्रेष्ठले भन्नुभयो, नवकिरणले मेरो जीवन सुधारिदियो । मेरो दिमागबाट सैतानरुपी मदिरा भगाइदियो ।’
खेल शिक्षक हुँदै नैतिक शिक्षा पनि पढाए श्रेष्ठले । विद्यार्थीलाई नैतिक शिक्षा पढाउने उनी स्कूल छोडेपछि आफै अनैतिकजस्तै भए । ‘समयमै सुध्रिए, मदिरा छोडेको चौथो वर्ष पूरा भएर पाँचौ वर्ष प्रवेश गरेका श्रेष्ठले भन्नुभयो, सुध्रिए । गुमाएको मानसम्मान, इज्जत फर्किदैछ ।’
नवकिरणमा बसेको दुई महिनापछि ६ वर्षकी छोरी एञ्जलिस उनलाई भेट्न नवकिरणमा पुगेकी रहिछन् । बुवासँग भेटिसकेपछि छोरीले नवकिरणका निर्देशक उत्तम खरेललाई सोधिछन्, मेरो बुवाले अहिले त रक्सी खानु हुँदैन नि ?’ ६ वर्षकी छोरीको यस्तो प्रश्नले श्रेष्ठलाई अझ लज्जित बनाएछ । श्रेष्ठले भन्नुभयो, मैले मेरो परिवारलाई कति दुखित गराएको रहेछु भन्ने थाहा पाए । छोरीको त्यो प्रश्नले मेरो दिमाल नै खल्बलाइदियो । मदिरा छोड्न अझ प्रेरित ग-यो ।
नवकिरणमा ५ महिना बस्दा श्रेष्ठले आठ घण्टा पढ्नु पथ्र्यो । विद्यार्थीलाई पढाएर बसेका उनलाई आफै पढ्नु पर्दा अझ धेरै सिक्ने मौका पाए । आज उनको घरपरिवारमा हाँसीखुशी फिर्ता भएको छ । ५० रुपैया माग्दा ‘रक्सी खानालाई त होला नि ?’ भन्ने घरपरिवारले विश्वास गरेका छन् । ‘गुमेको विश्वास र सम्मान फिर्ता हुँदैछ, श्रेष्ठले भन्नुभयो, अहिले मैले इभल्व केयर होस्टेल चलाएको छु । राम्रै भइरहेको छ ।’
खजुराका विनोद कार्की ३९ वर्षका भए । उनी पनि अल्कोहोलिक हुन् । नेपाली सेनाका भुपु हवल्दार मेजर कार्कीले १५ वर्षको हुँदादेखि नै मदिरा खान थालेका थिए । मदिरामा उनको लत यसरी बढ्यो कि नेपाल आर्मीको कडा अनुशासनलेसमेत छेकेन । डिउटी मिलाउने हवल्दार मेजर आफै मस्त हुने गर्दथे । ‘डिउटीमा रहदा पल्टिने गरी खादैनथे । तर, डोज कम हुने बित्तिकै थपिहाल्थे, कार्कीले भन्नुभयो, आधाबढी तलव त मदिरामै सिध्याउँथे ।’
कार्कीले बेलाबेलामा मदिरा छोड्ने प्रयास पनि गरे । तीन महिना रक्सी छोएनन् । छोरीको जन्म दिनमा फेरि ढल्ने गरी खाए । अति नै भएपछि उनी नवकिरण सुधार गृहमा आए । एक वर्षदेखि सुधार गृहमा बसेका उनी मदिरादेखि टाढा छन् ।
अल्कोहोलिकमात्रै होइन, लागु औषधमा चुर्लुम्म डुबेर त्यसलाई चटक्क छोडी आफै अभियान्ता बनेर हिडेका अभिराज क्षेत्री, रजत थापा, आशिष राई, उज्वल सुनार, रमेश पोखरेल (नाम परिवर्तन) समाजका हिरो भएका छन् ।
यी अभियान्ताहरुले आफ्नो वास्तविक भन्दा पनि ‘नराम्रो बानी’ छोडेको दिनलाई पुनर्जन्म मानेर जन्मदिन मनाउने गर्दछ । उनीहरुले सामुहिक पनि मनाउने गरेका छन् । यो वर्ष नवकिरणले कार्यक्रम गरेर उनीहरुको जन्म दिन मनाइदिएको थियो ।