भारतबाट आएर सिधैं घर, जाँच गर्दा कोरोना
नेपालगञ्ज – भारतबाट आएर सिधैं घरमा गएर बसेका कोहलपुरका दुई जनामा कोरोना देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भारतबाट ७ गते घरमा आएर बसेका कोहलपुरका दुई जनाको आठ गते स्वाव लिएर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको बताउनुभयो ।
कोहलपुर नगरपालिका वडा नं. ९ का ४७ र २१ वर्षीया महिलामा कोरोना देखिएको छ । भारतबाट आउदा साँझ भएकाले घरमा बसेको र भोलीपल्टै बागेश्वरी क्वारेन्टाइनमा बोलाएर स्वाव लिइएको बुझिएको छ ।
भारतबाट आउने र सिधैं घरमा जाने र पछि जाँच गर्दा कोरोना देखिनुले जोखिमले बढाएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या चार सय पुगेको छ । अहिले आइसोलेसनमा २८ जना बसेका छन् ।