डुडुवामा न्यायाधीश
नेपालगञ्ज – स्थानीय तह अन्तर्गत रहेका न्यायिक समितिहरुको कामकारबाही प्रक्रियालाई थप गणस्तरीय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गर्न थालेको छ । जिल्ला न्यायाधीशसहितको टोलीले मंगलबार बाँके डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण र छलफल गरेको छ ।
गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा दर्ता, मिसिलको व्यवस्थापन, निर्णयलगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष शाहिदा बानोले जानकारी गराउनु भएको थियो । त्यस अवसरमा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्याल र दिलिपराज पन्तले न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, मुद्दाका विषयलगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी दिनु भएको थियो । न्यायाधीश बस्यालले न्याय धर्मको पालना गरि कुनै पनि राजनीतिक तथा लोभ लालचमा नपरी निस्वार्थ भावनाले समितिमा दर्ता भएका मुद्दालाई पछ्र्यौट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायिक सम्पादनका क्रममा उत्पन्न विभिन्न समस्या समाधान गर्न जिल्ला अदालत जहिले पनि तयार रहेको आश्वासन दिनुभयो ।
न्यायाधीशद्धयलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको बस्तुस्थिति, कार्ययोजना र विभिन्न कामकारबाहीका बारेमा जानकारी गराउनु भएको थियो । न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलखीकरणका बारेमा आवश्यक जानकारी गराइएको थियो ।
भेटघाटमा कार्यपालिका सदस्य लिलावति यादव, न्यायिक समिति सदस्य रिता परियार, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतको सहभागिता रहेको थियो । निरीक्षण टोलीमा अदालतका शाखा अधिकृत विरबहादुर बोहरा र नासु विमल कुमार लामिछानेको पनि सहभागिता थियो भने टोलीले समितिमा रहेका विभिन्न अभिलेखीकरण गरिएका फाइल, मिसिल, रजिस्टर समेत अध्ययन गरेको थियो ।