नेपालगञ्जमा नयाँ आइसोलेसन सेन्टर बन्दै

नेपालगञ्ज – नेपालगञ्जमा नयाँ आइसोलेसन सेन्टर बनाउने तयारी भएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्लास्तरीय कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टरले आदर्शनगरमा आइसोलेसन सेन्टर बनाउने तयारी गरेको हो । विशेष गरेर जिल्ला बाहिरका पोजिटिभलाई राख्नका लागि आइसोलेसन सेन्टर बनाउन थालिएको छ ।
बाँकेमा १३ वटा आइसोलेसन सेन्टर छन् । सबैजसो पालिकामै आइसोलेसन सेन्टर बनाएर त्यहाँका बिरामीलाई त्यही राख्ने गरिएको छ । प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार वा अन्यत्रबाट उपचार गर्न अस्पतालमा आउदा पोजिटिभ देखिएका बिरामीलाई राख्नका लागि नयाँ आइसोलेसन सेन्टर बनाउन थालिएको छ ।
अछामबाट कोहलपुरमा उपचार गर्न आएकी महिलालाई कोरोना देखियो । उनीसँग सम्पर्कमा रहेका चार जनाको स्याम्पल जाँच गरिएको छ । यदि उनीहरुलाई पोजिटिभ देखिहाल्यो भने कहाँ राख्ने ? पालिकाहरुले आफ्नो ठाउँमा राख्न नदिन पनि सक्छन् । यस्तो अवस्थालाई ध्यानमा राखेर नयाँ आइसोलेसन सेन्टर बनाउन थालिएको छ ।
भारतबाट घर फर्किने क्रम रोकिएको छैन । पालिकाहरुले बनाएका क्वारेन्टाइनमा बस्नेको संख्या बढिरहेको छ । पालिकाहरुले पनि आइसोलेसन सेन्टर थप्ने काम गरिरहेका छन् । नेपालगञ्जमा डेन्टल लायन्स अस्पतालमा मात्रै आइसोलेसन सेन्टर छ । नयाँ बन्ने आइसोलेसन सेन्टरले बिरामीको चापलाई व्यवस्थित गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !