बिरामीमा कोरोना देखिएपछि अस्पताल ‘सील’

नेपालगञ्ज – बिरामीमा कोरोना देखिएपछि एक दिनका लागि कोहलपुर मेडिकल कलेज ‘सील’ गरिएको छ ।
अछामबाट रिफर भएर कोहलपुर आएकी गर्भवती महिलामा कोरोना देखिएपछि अस्पताल प्रशासनले एक दिनका लागि अस्पतालको सेवा बन्द गरेको हो ।
१८ हप्ताकी गर्भवती महिलाको आन्द्रा बेरिएकाले आपतकालिन अप्रेसन गर्नु भएकाले एक दिनका लागि ओपीडी सेवा बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महिलालाई सोमबार अछामबाट हेलिकोप्टरमा कोहलपुर ल्याइएको थियो ।
अस्पताल प्रशासनले भनेको छ, ‘अछाम जिल्ला बयलपाटा अस्पतालबाट रिफर भई आउनु भएकी कोरोना संक्रमित एक २५ वर्षीया १८ हप्ताकी गर्भवती महिलाको आन्द्रा बेरिएका कारण आज मेडिकल कलेज कोहलपुरमा आपतकालिन अप्रेसन गर्नु भएकाले आन्तरिक व्यवस्थापनका लागि एक दिनमात्र कोहलपुर अस्पतालको सम्पूर्ण बैरंग विभाग (ओपीडी) बन्द गरिएको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ । यसप्रति आम सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति अस्पताल व्यवस्थापन क्षमाप्रार्थी छ । भोलीदेखि सुरक्षित साथ सबै सेवाहरु सुचारु हुनेसमेत जानकारी गर्दछौं ।’


error: यो सुविधा उपलब्ध छैन !