अब के हुने हो ? त्रासमा नरैनापुर !

बसन्त शर्मा,

(नरैनापुर) – क्वारेन्टाइनमा ४६ जना गफिएर बसेका थिए । उनीहरुले भौतिक दुरी कायम गरेको देखिदैनथ्यो । एक जना प्रहरी कतैबाट टुप्लुक्क आइपुगेर परिचय माग्न थाले । मैले आफ्नो परिचय दिएसँगै उनले स्वास्थ्यकर्मीतर्फ पन्छाए ।
केहीबेर पछि कतैबाट झुल्किए स्वास्थ्यकर्मी । ती स्वास्थ्यकर्मीले सबैको स्वास्थ्य अवस्था सामान्य भएको कुरा निर्धक्कसँग बताए । उनले क्वारेन्टाइनको अवस्था सामान्य रहेको दावी गरे । ती सबै कुरा क्यामेरामा कैद गरियो । स्थानीय क्वारेन्टाइन व्यवस्थापन समितिमा खटिने एक जना ब्यक्ति खोज्दा मुश्किलले भेटिए ।
बाँकेको नरैनापुर–६ मा अवस्थित जय किसन माविमा बनाइएको क्वारेन्टाइनको बुधबारको दृश्य हो यो । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको दावी गरिने बाँके जिल्लाको नरैनापुर अहिले राज्य बिहीनताजस्तै रहेको छ । क्वारेन्टाइनमा बसेकै अवस्थामा एकजना युवकको मृत्यु भइसकेपछि अहिले पुरै नरैनापुरका नागरिक संत्रासमा बाँचिरहेका छन् ।


बुधबार नरैनापुर गाउँपालिका भित्रका विभिन्न गाउँमा बसिरहेका स्थानीयवासीहरु मानसिक रुपमा त्रासमा रहेको अवस्थामा भेटिए । गाउँका गल्लीहरुमा हाम्रो गाडी कुदेको घरभित्रबाटै चिह्याएर हेर्थे मानिसहरु । सडकमा गाईबस्तुका लागी घाँस बोकेर हिडिरहेका स्थानीयवासीहरु पशुचौपाया पनि भोक भोकै मर्ने अबस्था आएको बताउँथे ।
गाउँ–गाउँमा पुगेको सिंहदरवार अर्थात स्थानीय तहको सरकार नरैनापुर गाउँपालिकाका अध्यक्ष मो.इस्तियाक शाह कार्यालयमा भेटिएनन् । फोन सम्पर्कमा आँफु केही अस्वस्थ भएकाले घरमा नै रहेको जानकारी दिए । मोबाइलमा कुरा गर्दै उनले भने ‘अब म मात्रै केही गर्न सक्ने अवस्थामा छैन, तपाईहरु पनि मेरो अवस्थाबारे लेख्नुहोस है ।’ यता मटेहियाका एक सर्वसाधारण रामधन यादवले जनप्रतिनिधिहरु जनताको सम्पर्कमा आउन नचाहने गरेकोमा दुखेसो पोखे । यादव भन्छन् ‘हामीसँग जनप्रतिनिधिहरु बोल्न समेत चाहँदैनन ।’
नरैनापुर वडा नं. ६ मा पर्ने जयकिसन माविमा क्वारेन्टाइनको जस्तो माहोल देखिंदैनथ्यो । एक आपसमा नजिकै बसिरहेका हुन्छन् संक्रमितहरु । १० दिन देखि क्वारेन्टाइनमा बसिरहेका देवरलाई भेट्न पुगेकी अवधि भाषी किशोरी बर्मा भन्छिन्, ‘राती–राती भारतबाट आउँदै गाउँ छिर्ने धेरै छन्, हामी सबै डराएर बसिरहेका छौं ।’


रोजागारीको लागी भारतको मुम्बई पुगेका १८ बर्षीय रामकृष्ण मौर्य कोरोना संक्रमणले मुम्बई आक्रान्त भएपछि आफ्नो रोजागारी गुमाउँदै मुम्बईबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसिरहेका छन् । उनले मुम्बईबाट नेपाल फर्किंदा आँफुले भोगेको सास्ती सनाउन नसकेर गहभरी आँशु बनाए । उनले विस्तारै मुम्बईबाट भेडाबाख्रा जस्तैगरी छ दिनमा ट्रकमा चढेर अनुनय विनय गर्दै उत्तर प्रदेशको लखनउ पुगेको ब्यथा सुनाए । अवधि भाषमा हिन्दी मिसाउँदै बोल्ने मौर्य लखनऊबाट ६ दिन पैदल हिंडेर नरैनापुर नजिकैको नेपाल भारत सीमामा पर्ने जमुनाह पुगेका रहेछन् । रातीको समयमा नेपाल भित्रिएका उनी आफन्तको आग्रहमा क्वारेन्टाइन पुगे । ९ दिनदेखि उनी जयकिसन माविको क्वारेन्टाइनमा बस्दै आइरहेका छन् ।
भारतको महाराष्ट्र पुगेका १३ बर्षीय अख्तर रज्जाक एक्लै नेपाल फर्किएका थिए । नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा मदरसा अरबीया गुल्सने वारीश हुर्मतुलमा क्वारेन्टाइन नाम दिएको छ । जहाँ ४३ जनासँगै १३ बर्षीय ती बालक पनि बसिरहेका छन् । नरैनापुरका वासिन्दाहरु आफ्ना परिवारका सदस्यहरु भारतमा रोजगारीका लागि गएको र घर फर्कन नसक्ने अवस्थामा रोजगारी गुमाएर बसेको अवस्थामा रहेकाले स्थानीय सरकारले उनीहरुलाई घर फर्कने वातावरण बनाइदिन पर्छ सम्म भन्छन् । नरैनापुर वडा नं. ६ की भावना गिरीका श्रीमान गोवाको एक होटलमा रोजगारीमा रहेकोमा अहिले होटल बन्द भएकाले उनी बेरोजगार भए । गोवाबाट रुपैडीया सम्म भारतीय रुपैयाँ १८ हजार भाडा भनेपछि उनका श्रीमान गोवा मै अलपत्र परेको कुरा सुनाउँछिन् । गिरीजस्ता कैयौं परिवारका सदस्यहरु भारतमा अलपत्र छन् ।


संक्रमण देखिएको बाँके त्यसमा पनि नरैनापुर जहाँ जिम्मेवार राज्यका निकायको उपस्थिति भने दयनीय अवस्थामा छ । त्यहाँ न त कुनै विषेश चिकित्सकहरुको टोली छ न त कुनै उपल्लो तहका सरकारी अधिकारी नै भेटिन्छन् । सूचना र समाचारका लागी पुष्टिकरण गर्न समेत गाह्रो रहेछ । एउटै पालिकामा ६८ जना संक्रमित भेटिएपछि त्रासमा छन्, स्थानीयवासी । अझै ठूलो संख्यामा क्वारेन्टाइनमा रहेकाहरु आफ्नो रिपोर्ट पर्खिदै छन् । के हुने हो, कसो हुने हो, क्वारेन्टाइनमा रहेकाहरुमा चिन्ता त छदैछ, आफन्तीहरु कम व्याकुल छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !