थुनछेक बहसअघि थुनुवाको ‘आरडीटी’ जाँच

नेपालगञ्ज – प्रहरी हिरासतमा रहेका थुनुवाको थुनछेक बहस अघि ‘आरडीटी’ जाँच गर्न थालिएको छ ।
बाँके प्रहरीको हिरासतमा रहेका १० जनाको आज थुनछेक बहसका लागि अदालतमा उपस्थित गराउनु अघि आरडीटी जाँच गरिएको हो ।
बाँके प्रहरीले सामान्य मुद्दाका थुनुवालाई हाजिरी जमानीमा छोडिसकेको छ । अहिले हिरासतमा जघन्य अपराधका थुनुवामात्रै रहेका छन् । थुनुवालाई थुनछेक बहस अघि नै कोरोना भए नभएको जाँच गरिएको हो । अदालतबाट उनीहरु कारागार जान पनि सक्छन् । कारागारमा कोरोनाविरुद्ध विशेष सावधानी अपनाइएको छ । बाहिरका मानिसलाई प्रवेशमा रोक लगाइएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले अदालतमा पठाउदा थुनुवाको आरडीटी जाँच गरिएको बताउनुभयो ।
बाँकेमा आरडीटी किट भने पर्याप्त छैन । अहिलेसम्म जिल्लामा ६ सय वटा आरडीटी आएकोमा अब एक सय ८५ वटामात्रै बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आरडीटी जाँचमा क्वारेन्टाइनमा बसेकालाई प्राथमिकतामा राखिएको छ । क्वारेन्टाइनमा बसेर १४ औं दिन पूरा गरेका व्यक्तिलाई आरडीटी जाँच गरेर घर पठाउने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !