उर्दु सायर टेलर मास्टर
नेपालगञ्ज – पेशाले उनी टेलर मास्टर हुन् । कपडा सिलाउँछन् । महिनाको अन्तिम शनिबार भने उनको पसल बन्द हुन्छ । उनी विशेष गजल गोष्ठीमा उपस्थित हुन्छन् ।नेपालगञ्जका मोहम्मद मुस्तफा अहसन कुरैसी साहित्यिक संस्था गुल्जर –ए–अदवका सचिव हुन् । विशेष गोष्ठीमा कुरैसीको प्रमुख भूमिका रहने गर्दछ । विशेष गोष्ठीमा एक लाइन दिइन्छ र त्यसमै रहेर गजल बनाउनु पर्छ । त्यो लाइन दिने काम कुरैसीले गर्नुहुन्छ । ‘घरमै बनाएर ल्याएर त जसले पनि पढ्न सक्छ नि । हामीले कार्यक्रममा उपस्थित भएपछि एक लाइन दिएर त्यही गजल बनाउन लगाई वाचन गर्न लगाउँछौं, उर्दु शायर कुरैसीले भन्नुभयो, त्यही भएर विशेष गजल गोष्ठी भनिएको हो ।’
महिनाको अन्तिम शनिबार हुने विशेष गजल गोष्ठीमा ८-१० जना सहभागी हुने गर्दछन् । कहिलेकाही धेरै हुन्छन् । त्यहाँ नेपाली, उर्दु, हिन्दी, अवधि भाषामा गजल गुन्जिन्छन् । गजल बनाउन सजिलो हुँदैन । काफिया, रदिफ, छन्द (बहर) मिलाउनु पर्छ । शायर कुरैसी नेपाली गजलमा काफिया र रदिफ मिले पनि छन्द मिलाउन धेरैले नसक्ने बताउनुहुन्छ । कतिपय नेपाली साहित्यकारहरु उर्दुजसरी नेपालीमा छन्द मिलाउन सजिलो नहुने बताउँछन् । कुरैसी यो कुरा मान्न तयार छैनन् । उहाँ भन्नुहुन्छ, ‘मोतिराम भट्टले छन्द मिलाउँथे । घनश्याम न्यौपानेले छन्द मिलाउँछन् । नेपालीमा शब्द नै नभएको त कहाँ हो र ?’
५९ वर्षका कुरैसीले १७ वर्षको हुँदादेखि सिलाईको काम थाल्नुभयो । अहिले आफ्नै घरमा रहेको पपुलर टेलर २२ वर्षसम्म त्रिभुवनचोकमा रहेको थियो ।
गजल कतिबेला लेख्नु हुन्छ ? कुरैसी भन्नुहुन्छ, ‘लेख्छु भनेर गजल लेखिदैन । बस्दा बस्दै, हिड्दा हिड्दै, कुनै घटना सम्झिदा गजल बन्छन् ।’
कुरैसीले बोल्दाबोल्दै त्रिभुवनचोकमा राखिएको पूर्वराजा त्रिभुवनको शालिकबारे लेखिएको गजल गुन्गुनाइ हाल्नुभयो । –
‘चेहेरेको किया जख्मी, बाजुको भी तोडा हे,
पर वो न मेटा पाए, होटे पे तबस्सुमको ।’
दोस्रो जनआन्दोलन २०६२-२०६३ सालमा त्रिभुवनचोकमा रहेको पूर्वराजा त्रिभुवनचोकको शालिक तोडफोड भएको थियो । एक दिन सुनारमण्डीमा रहेको नेपाली मस्जिदमा नमाज पढ्न जादा कुरैसीले शालिक तोडफोड भएको देख्नुभयो । उत्तिनैखेर उनले यो शेर बनाइ हाल्नुभयो, ‘अनुहारलाई घाइते बनाए । हातलाई पनि भाँचे । तर, उनीहरुले मुस्कानलाई मेटाउन सकेनन् ।’
नेपालगञ्जमा विभिन्न जातजाती, भाषाभाषीका समुदाय बस्छन् । बेलाबेलामा यहाँ आपसी मतभेदहरु सिर्जना हुन्छन् । सानो विवादले ठूलो धनजनको क्षति पु¥याउँछ । भाषा, धर्म, जात, समुदाय भन्दा उठ्ने साहित्यकारलाई यस्तो बेलामा ठूलो पीडा हुन्छ । आपसमा लडेर होइन, जुटेर अघि बढ्न प्रेरणा दिन्छन् । लडाई, झगडा, घृणाले घर, समाज, देश बन्न सक्दैन । व्यक्ति, समाज र देशको उन्नतिको लागि आपसमा मेलमिलाप आवश्यक पर्छ । नेपालगञ्जमा बेलाबेलामा हुने आपसी भेदभावका झगडालाई सम्झिएर कुरैसी लेख्नुहुन्छ –
नफरत और ताअसुवका माहौल बना क्यू है ?
क्या इन्ही फसादो से नेपाल नयाँ होला ?
जब एक बनेंगे हम तब नेक बनेंगे हम
नेपाल दुनिया मे फिर रुतवा वडा होला ।
घृणाको वातावरण किन बढेको छ । यस्तै दंगाबाट नेपाल नयाँ हुन्छ ? हामी सबै एक भएर राम्रो भएपछि नेपालको नाम उच्च रहन्छ । शायर कुरैसीले दिन खोजेको सन्देश यस्तो थियो ।
समाजमा देखिएका विकृति, विसंगतिहरुलाई उर्दु साहित्यबाट उजागर गर्छन् कुरैसी । नेपालगञ्जमा उर्दु साहित्यकारको नाम लिंदा ओठमा झुण्डि हाल्ने परिचय बनाएका कुरैसीले २०५३ सालदेखि शेर वाचन गर्न शुरु गर्नु भएको हो ।
कुरैसी कसरी उर्दु शायर बने भन्ने पनि रोचन नै रहेको छ । उनका एकजना साथी (दाइ) जमिल हासमी थिए । उनी शेरहरु भन्थे । काफिया र रदिफ मिलाउँथे । बहर (छन्द) मिलाउन गाह्रो मान्थे । नेपालगञ्जका पुराना शायर अब्दुल ललित शौककहाँ सिक्न जान्थे । जमिलले कुरैसीलाई शौकबाट बहर सिकेर आफूलाई सिकाई दिन आग्रह गरे । त्रिभुवनचोकमा सिकाईको काम गर्ने कुरैसी शौकको घरमा पुगे । शौकका छोरा कुरैसीका साथी नै थिए । शौकले छन्दका साथै काफिया, रदिफ सिकाइदिए । उनीले जमिललाई भनिदिए । अनि, आफ्नै काममा लागि रहे । शौकले भने भेट्ने बित्तिकै मैले सिकाइ दिए अनुसार खोई त तिमीले शेर बनाएको भन्न थाले । पटक पटक भन्न थालेपछि कुरैसीले एक दिन शेर बनाएर शौकलाई देखाइदिए । शौकले तिमीले धेरै राम्रो ग¥यौ । धेरै वर्षदेखि शायर बनेकाले मिलाउन नसक्ने कुरा तिमीले मिलाइदियौ भनेर हौसला प्रदान गरे । शौकको त्यो हौसलाले कुरैसीलाई शायरमा तान्यो । कुरैसी भन्नुहुन्छ, ‘हौसला भन्ने एक शब्दले मान्छेको गन्तब्य बदल्न सक्छ । म पनि शौकको एक शब्द हौसलाले गर्दा शायर भए ।’
कुरैसीले धेरै पढ्नु भएको छ्रैन । उहाँको नेपाली भाषा राम्रो छैन । उर्दु शेर भन्दा जो कोहीको मुखबाट वाहवाही निस्किन्छ । ताली बज्छन् । मदरसा सत्तरिया (फैजनब्बी) बाट आठ पास गरेका कुरैसीले भारतको अलीगढ उर्दु विश्वविद्यालयबाट (प्राइभेटमा परीक्षा दिएर) अदिव (एसएलसी सरह) उत्तीर्ण गर्नु भएको छ ।
कुरैसीको शब्द चयन गजबको छ । नेपाल कहिल्यै कसैको गुलाम भएन । विश्वका मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरु कयौ वर्षसम्म अर्काको अधिनमा परे । कुरैसी भन्नुहुन्छ –
फख्र से सर सदा जिसका ऊँचा रहा
जिसका रौशन अमि माजी –ए–हाल है
जिसने तौके गुलामीको महना नही
सिर्फ ऐसा मेरा देश नेपाल है ।
नेपालगञ्ज मुसायराको धनी शहर हो । २०३० को दशकमा यहाँ धेरै मुसायरा हुन्थे । नेपालका मात्रै भएर भारतका प्रसिद्ध साहित्यकारहरु मुसायरामा आउँथे । फारुक अहमद आरिफले सञ्चालन गरेको बज्म –ए–अदब चर्चित थियो । मो. अमिन खयाली, मो. उमर असर, मो. युनुस अदिव, अब्दुल लतिफ शौक चर्चित नाम थिए । खाना खाएर रातभरी रचना वाचन गर्नुलाई मुसायरा भनिन्छ । मुसायरा आयोजना गर्दा खर्च बढी लाग्छ । २०३३ सालमा त्यही बज्म–ए–अदबबाट छुट्टिएर गुज्लर–ए–अदब बनेको कुरैसी बताउनुहुन्छ ।
कुरैसीको परिवारमा कोही शायर छैनन् । उहाँको समुदायमा नै एकजना मात्रै शायर थिए, नन्हे कैफ कुरैसी । अब अर्को मान्छे अगाडि आउने छाँट पनि देखिदैन । कुरैसीले शायर हुन नयाँ पुस्ताले चासो नदेखाएको गुनासो गर्नुहुन्छ । ‘हामीले प्रत्येक महिना विशेष गजल गोष्ठी गर्छौ । त्यहाँ नयाँ पुस्ता आएको पाइदैन, कुरैसीले भन्नुभयो, नयाँ पुस्तालाई साहित्यमा खासै चासो छैन । उनीहरु मोबाइल, पैसाको पछि दौडिरहेका छन् ।’
कुरैसीले गजल संग्रह प्रकाशित गरिसक्नु भएको छ । ‘सोज ए दिल’ (मुटुको जलन) गजल संग्रह २०६९ सालमा प्रकाशित भएको थियो । महिनैपिच्छे गजल लेखिरहने कुरैसीका ६ सय बढी गजल रहेका छन् । तर, त्यसलाई छापिदिने कसले ? एउटा गजल संग्रह त बल्लबल्ल प्रकाशित भयो ।
नेपाल र भारतबाट विभिन्न ठाउँमा गजल भन्न पुग्नु भएको छ कुरैसी । भारतको नानपारा, बहराइच, बारबन्की, नेपालको काठमाडौं, कपिलबस्तुमा भएका ठूल्ठूला साहित्यिक सम्मेलनमा पुगेर रचना वाचन गरेका छन् । अन्य ठाउँहरुबाट पनि कुरैसीलाई बोलावट आइरहन्छ । तर, उहाँ घरायसी समस्याले गर्दा जानु हुँदैन । तर, जहाँजहाँ गएर उर्दुमा शेर भन्नुहुन्छ । त्यहाँ वाहवाही र तालीको गडगडहाट पाएका छन् । पत्रिकाको हेडलाइन भएका छन् ।
भेरी साहित्य समाज तथा प्रगतिशील लेखक संघ, बाँकेका सदस्यसमेत रहेका कुरैसीलाई वाङ्मय प्रतिष्ठान केन्द्रीय समिति ५ नम्बर प्रदेश कपिलबस्तुले सम्मान गरेको छ । उर्दु भाषा साहित्यमा पु¥याएको योगदानको कदर गरेको छ ।
घृणाबाट होइन, प्रेमबाट अगाडि बढ्दा गन्तब्यमा पुगिन्छ । जन्मस्थललाई घृणा होइन प्रेम गर्नुपर्छ । देशबाट कुनै जात, समुदाय विशेषले मात्रै फाइदा लिने होइन, सूर्यले बराबरी प्रकाश छरेजस्तो हुनुपर्छ । शायर कुरैसी लेख्नुहुन्छ –
मुस्लिम, पहाडी, थारु, मधेसी के वास्ते
अम्न व अमाँ जरुरी है सवही के वास्ते
सुरज की रोशनी ए भला किस के लिए है
थारु के वास्ते कि मधेसी के वास्ते
मुस्लिम फकत उठाता है सुरज के फाइदे
या रोशनी है इसकी पहाडी के वास्ते
सुरज चमक रहा है कहाँ एक कम पर
सुरज ही रोशनी तो है सब ही के वास्ते
बेसक इसी तरह है मेरा मुल्क की मिसाल
नेपाल प्यारा देश है सबही वास्ते ।।