संघको चुनावमा कांग्रेस र राप्रपा एकजुट

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस र राप्रपानिकट व्यापारीहरु एक भएर अघि बढ्ने भएका छन् ।
माघ ११ गते हुने निर्वाचनमा कांग्रेस र राप्रपानिकट व्यापारीहरु एउटै प्यानल बनाएर अघि बढ्ने सम्झौता गरेका हुन् । कांग्रेसनिकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्मा र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष सलाउदिन जसगढले बिहीबार सम्झौता गर्दै उद्योगी व्यवसायी मात्रै होइन, निजी क्षेत्रको समग्र सवाल, मुद्दा उठान गर्ने र सम्बोधनको वातावरण सिर्जना गर्दै लोकतन्त्र र उदार अर्थ नीतिप्रति आस्थावान सम्पूर्ण उद्योगी व्यवसायीहरु संगठित हुनुपर्ने आवश्यकता महसुस गरेको बताएका छन् ।
राप्रपालाई बस्तुगत उपाध्यक्ष र दुई सदस्य प्रत्यक्ष तथा दुई सदस्य मनोनितमा दिने सहमति भएको छ । कांग्रेस, राप्रपालगायत साझा समूहबाट ललित रौनियारले नेतृत्व गर्ने राप्रपाका युवा नेता ऋषिराज देवकोटाले बताउनुभयो ।
संघको निर्वाचन आउन एक महिना बाँकी रहदा तालमेल र उम्मेदवारका आकांक्षीहरुले भेटघाटलाई तिब्रता दिन थालेका छन् । नेकपाबाट अब्दुल वाहिद मन्सुरी (चुन्ना) को नेतृत्वमा उम्मेदवार चयन हुने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !