कहाँ छन् फ्रान्सको जहाजमा आएका बाँकेका चार जना ?
नेपालगञ्ज – कोरोनाको संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँकेका चार जना रहेको खुलेको छ ।
चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताइसकेको छ । त्यही जहाजमा बाँकेका चार जना रहेको र उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्न बाँकेमा पत्र आइपुगेको छ ।
चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको छ । ठेगाना खुलाइएको छैन । ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको छ । उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुलाई खोजेर केही दिन सुरक्षित ठाउँमा राखिने बताउनुभयो ।
यसैबीच, जिल्लामा आज जनता कफ्र्यु जारी रहेको छ । जनता कफ्र्युका बीचमा मानिसहरु सडकमा निस्किरहदा चिन्ताको विषय बनेको छ । स्थानीय प्रशासनलाई अलि कडाईका साथ उत्रिन चौतर्फी दबाब बढेको छ ।