‘लकडाउन’को दैनिकी
खजुरा – बिहान उठियो, स्नान पछिको चियापान अनि फेरि बिस्तरा नै, बडो नौलो अनुभव हुँदैछ, १२ घण्टा दैनिक सक्रिय जीवन बिताउने म यो लकडाउनको अवस्थामा पुरापुर घरमा नै बस्नु अत्यास लाग्दो नै हुँदो रहेछ ।
यसो गरो–उसो गरो हात फेरि उही मोबाइल मै पुग्छ, बाँके जिल्ला वरिपरिका साथीहरूले पोस्ट्याएका फोटा, भिडियो अनि ताजा अवस्था, देशभरका र परदेशको (बिदेश) अवस्था बडो गज्जब संसारलाई यो ईन्टरनेटको दुनियाँले ग्लोबल भिलेज बनाएको थियो भने अब यो कोभिड–१९ ले ग्लोबल नेशन बनाउला जस्तो पो गर्दैछ ।
कतै यो अहिलेको जटिल अवस्थालाई नटेरेर अटेर गर्दै हिडेका दृश्य त कतै अन्तिम संकटमा देश र जहान परिवार सम्झेर घर फर्किनेको तातीका समाचार र दृश्यले सोचमग्न बनाइरह्यो । आज पनि रुपैडिहा नाका हुँदै ८७ जना भित्रिएको खबर सुने भने सुदूरपश्चिमको गड्डा चौकी नाकामा नि उस्तै भीड अनि देश पस्न ढुंगामुढा, दिल्लीमा पनि थुप्रै नेपाली अलपत्रका सूचना फेसबुकतिर भेटिए ।
म बस्दै आएको बाँकेको खजुराबजारमा बाहिरबाट आउनेहरुको हिड्डुल बाहेक खासै स्थानीय हिडेको देखिएन, सबै पसल खजुरामा बन्द भए, खाद्यान्न र तरकारी पसल नि बन्द थिए म केही सामान किन्न एकनम्बर बजार निस्कदा एक तरकारी पसले दिदी घर पछाडि लुकेर तरकारी फिजाएर बस्नु भएको भेटे, सोधेँ किन लुकेर तरकारी बेचेको दिदी ? उहाँले सुनाउनु भो, पुलिस आए पसल बन्द गर्ने कि हालौ गाडीमा भनेपछि बन्द गरे । एक अनलाइनमा अन्तर्वार्ता दिदै बाँके प्रजिअ बोल्दै गरेको सुने, बजार र पसल बन्द किन छ मलाई नै थाहा छैन, हामीले खाद्यन्न र तरकारी अर्थात अत्यावश्यक सेवा बन्द गर्न भनेका छैनौं, यो संकटपूर्ण अवस्थाको कस्तो ह्यान्डलिङ हो अचम्म लाग्यो ।
आज नै एउटा अनलाइन मिडियाले देखाएको एउटा भिडियोले मन हर्षित भो, बाँकेका एक माननीय मो. इस्तियाक राई शहर स्यानिटाइज गर्न आफैं फिल्डमा उत्रिएको देखिन्थे भने अर्को तिर खजुरा गाउँ पालिका वडा नं. १ का अध्यक्ष सुमन मल्ल आफ्नो गाउँपालिकामा क्वारेन्टाइन निर्माणका लागी आफै खटिएको तस्बिर सामाजिक संजाल देखियो । यो दुई दृश्यले मन फुरुङ भो, उहाँहरु दुबै लाई सलाम ।
अब यो कोरोनाको कहर र संकटमा दैनिक ज्याला मजदुरी गरेर साझ बिहान चलाउनेको दैनिकी कष्टकर बन्न सक्नेतर्फ स्थानीय सरकारहरु चनाखो हुन जरुरी छ, भोकै कोही ले दिन कटाउनु नपरोस् उनीहरुलाइ कम्तीमा ७ दिनपुग्ने रासन तत्कालका लागी ब्यबस्थापन गर्न सके राम्रो हुने थियो ।
यो संकट र अप्ठ्यारोले हामी मात्र हैन सिंगो बिश्व नै प्रभावित छ । त्यसैले यस्तो बेला सबैले आ– आफ्नो ठाउँबाट सघाउ सबैभन्दा ठूलो सहयोग यो बेला घरमा नै बसिदिनु हो । सरकार र स्वास्थ्यकर्मीहरुले दिएको सल्लाह सुझाव पालना गरौं, केही दिनमा स्वतस्फूर्त हामीलाई घरको लकडाउन अवस्था पनि सहज बन्दै जाला, विभिन्न पुस्तक पढौ, करेसाबारीमा रमाउ, इनडोर खेलहरुमा रमाउ, केही दिन संयमता अपनाइ यो महामारीसंग जुधौ ।