७ गते पेशी, ६ गते नै फैसला
नेपालगञ्ज – अदालतबाट जारी गरिएको तारिख पर्चामा पुस ७ गतेलाई पेशी तोकिएको थियो । त्यही पर्चाको आधारमा कोहलपुरका पुष्पाञ्जली थापाका परिवार अदालतमा पुगे । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजसालमा पुगेपछि पुष्पाञ्जली, आमा शान्ति र भाइबहिनी छाँगाबाट खसेजस्तो भए । जब अदालतका कर्मचारीले मुद्दाको फैसला एक दिन अगाडि नै भएको जानकारी दिए ।
उच्च अदालतको आधिकारिक पर्चामा पुस ७ गतेलाई तोकिएको पेशीको फैसला कसरी ६ गते नै भयो ? गम्भीर प्रश्न उब्जिएको छ । यसलाई अदालतको कर्मचारीको ठूलो लापरबाही मानिएको छ । वारका अध्यक्ष विकास आचार्यले कर्मचारीले ढड्डामा ६ र पर्चामा ७ गते लेखेको हुन सक्ने बताउनुभयो । ‘यो त गम्भीर लापरबाही हो । मैले सुने अनुसार ती कर्मचारीहरु अनुसन्धानको दायरामा आएका छन्, वारका अध्यक्ष आचार्यले भन्नुभयो, कर्मचारीलाई कारबाही गरेपनि पीडितको पीडा त कम हुँदैन नि ?’
कोहलपुरकी पुष्पाञ्जलीको यो चौथो पेशी थियो । पुष्पाञ्जलीले भन्नुभयो, ‘मिलोमतो’मा यो सब काम भएको छ । अदालतमै यस्तो भएपछि हामीले न्याय खोज्न कहाँ जाने ?’
मुद्दाको विषय सानो छैन । एक फैसलाले एक परिवारको उठीबास लाग्दैछ । शान्तिको ‘सिन्दुर’सँग घटना जोडिएको छ ।
बर्दियाका कमल शाहीले शान्तिका श्रीमान पूर्णबहादुर थापासँग मिलेर ‘काम गर्ने’ भन्दै उनको चप्परगौडीमा एक कठ्ठा ६ धुरमा रहेको घर लक्ष्मी बैंकमा ९० लाख रुपैयामा दृष्टिबन्धक राख्न फकाए । पूर्णबहादुरबाट आफ्नो नाममा घरजग्गा लिएर शाहीले बैंकबाट ९० लाख रुपैया निकाले । यो २०७३ भदौको कुरा हो । ९० लाख रुपैया निकालेर घरजग्गा कमलबाट बैंकमा दृष्टिबन्धक राख्दा शान्तिको हस्ताक्षर छैन । जब श्रीमान पूर्णबहादुरले घरजग्गा कमललाई पास गरेर बैंकबाट ९० लाख रुपैया निकालेको थाहा पाउनुभयो । श्रीमानलाई पैसा खोई भन्न थाल्नुभयो । २०७३ भदौ ६ गते रक्षा बन्धनको दिन घरबाट कमलसँग लालपूर्जा लिन जान्छु भनेर निस्किएका शान्तिका श्रीमान पूर्णबहादुर अहिलेसम्म सम्पर्कमा छैनन् । श्रीमान पूर्णबहादुरलाई कमल शाहीले बेपत्ता पारेको शान्तिको आरोप रहेको छ ।
यो ९० लाख रुपैया निकाल्नु अघि शान्तिले नै कमला खत्रीलाई यही घरजग्गा २९ लाख रुपैयामा दृष्टिबन्धक राख्नु भएको थियो । यो २०७१ मंसीर २८ गतेको कुरा थियो । २०७३ मा कमल शाहीमार्फत ९० लाख रुपैयामा दृष्टिबन्धक राखेपछि पहिलाको कमला खत्रीको दृष्टिबन्धकको पैसा तिरिएको थियो । पछिल्लो दृष्टिबन्धकका बारेमा कुनै जानकारी नपाएकी शान्तिले २०७३ फाल्गुन १० गते अदालतमा श्रीमान पूर्णबहादुर, कमल शाही र कमला खत्रीविरुद्ध जालसाछी मुद्दा दायर गर्नुभयो । यो मुद्दा शान्ति हार्नुभयो । शान्तिको मुद्दा हेरेका कानून व्यवसायीले धोका दिएको थापा परिवारको भनाई छ ।
फेरि अर्को कानून व्यवसायी राखेर उच्च अदालतमा मुद्दा दायर गरियो । यसपाली कानून व्यवसायीले छोरी पुष्पाञ्जलीलाई अगाडि सार्न लगाए । कानून व्यवसायीले भने अनुसार पुष्पाञ्जलीले आमा, बुवा, कमल शाही र कमला खत्रीविरुद्ध मुद्दा दायर गर्नुभयो । यही मुद्दाको पेशी पटक–पटक तोकियो । अन्तिम पेशीमा अदालतकै कर्मचारीले ठूलो ‘खेल’ खेले । जुन खेलले अदालतको गरीमा घटाउने काम गरेको छ ।
‘हामीलाई न्यायालयसमेत ठग्यो, अब हामी कहाँ जाने, शान्तिले भन्नुभयो, लालपूर्जा लिन जान्छु भनेर घरबाट हिडेका श्रीमान अहिलेसम्म सम्पर्कमा छैनन् । कमलले मेरो श्रीमान अगाडि ल्याइदिओस् म हाँसीहाँसी घरजग्गा उसलाई दिएर हिडिदिन्छु ।’