समाजवादी पार्टी सरकारबाट बाहिरियो

काठमाडौँ — उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनु भएको हो । यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिनु भएको छ ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिनुभयो । समाजवादी पार्टीले मंगलबार नै यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो ।
यादवले प्रधानमन्त्रीलाई सम्बोधन गरेको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले जानकारी दिनुभयो ।
संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै यादवले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गर्नु भएको थियो । तर, प्रधानमन्त्री ओलीले यसलाई ठाडै अस्वीकार गर्नुभयो । प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !