हिन्दुको धरोहर बागेश्वरी

नेपालगञ्ज – बागेश्वरी मन्दिर प्रमुख शक्तिपीठमध्येमा पर्छ । नेपालगञ्जको घरबारीटोलमा रहेको मन्दिरमा वर्षेनी हजारौं भक्तजन पूजा गर्न आउँछन् । सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले वाक्यश्वरी हुँदै बागेश्वरी नामाकरण भएको मन्दिरका महन्त हरिहरनाथ योगी बताउनुहुन्छ ।
बागेश्वरी मन्दिरको उत्पतिबारे महन्त योगी भन्नुहुन्छ, दक्ष प्रजापतिले ठूलो ‘यज्ञ’ आयोजना गरेका थिए । सबै देवतालाई निम्ता दिइयो । छोरी सति र शिव (महादेव) लाई बोलाइएन । माइतीमा ठूलो यज्ञ आयोजना गरेको नारदले सतिलाई सुनाए । सतिले जाने इच्छा गरिन् । शिवले नबोलाएको ठाउँमा जान उचित नहुने सल्लाह दिए । सतिले मानिनन् । माइतीमा जान बोलाउनु नपर्ने अडान लिइन् । सति यज्ञ भएको ठाउँमा पुगिन् । दक्ष प्रजापतिले सतिको ठूलो बेइज्जत गरे । शिवलाई लल्कारे । सबैको अगाडि शिवलाई कपाली, पाखण्डी भने । सतिले सहन सकिनन् । उनले त्यही आगोमा हामफालेर प्राण त्याग गरिन् ।
सतिले प्राण त्याग गरेपछि शिव आक्रोशित भए । सतिको मृत शरीर बोकेर हिड्न थाले । शिव बहुलाजस्तो भए । शिवले सतिको मृत शरीर नछोडेपछि भगवान विष्णुले सुदर्शन चक्र प्रहार गरेर सतिको शरीर छियाछिया पारिदिए । सतिको शरीरका विभिन्न भाग विभिन्न ठाउँमा खसे । त्यसक्रममा सतिको वाक्य (जिब्रो) खसेको ठाउँमा बागेश्वरी मन्दिर बनेको छ । श्री स्वस्थानीमा सतिको २४ करोड अंग खसेको बयान गरिएको छ ।
सतिको जिब्रो खसेकाले पहिला यो मन्दिरको नाम वाक्यश्वरी थियो । पछि त्यही वाक्यश्वरी अपभ्रम्स हुँदै बागेश्वरी नामाकरण भयो । ‘तेत्रायुगको अन्तिममा जिब्रो पतन भएको हो, मिति त भागवतमा पनि छैन, महन्त योगी भन्नुहुन्छ, बागेश्वरी मन्दिर कहिले बन्यो यकिन छैन ।’
सन् १८५७ मा भारतको लखनऊमा भएको सैनिक विद्रोह (गदर) दबाउन श्री ३ महाराज जंगबहादुर राणाले ब्रिटिसलाई सहयोग गरेपछि प्राप्त नयाँ मुलुकमा पर्छ, बाँके जिल्ला । त्यसअघि बाँके तुलसीपुर स्टेट (बलरामपुर) भित्र पथ्र्यो । तुलसीपुर स्टेटमा पाटनदेवी मन्दिर रहेको छ । यो मन्दिर पनि सतिको अंग खसेको ठाउँ मानिन्छ । त्यहाँ सतिको बामपट खसेको थियो । पहिला एउटै स्टेटमा पर्ने भएकाले बागेश्वरी र पाटनदेवीको सिधा ‘कनेक्सन’ रहेको छ । कतिपयले बागेश्वरी र पाटनदेवी मन्दिरलाई दिदी–बहिनी मान्छन् । तर, वास्तविकता के हो भने बागेश्वरी मन्दिर र पाटनदेवी मन्दिरको गर्भ (भित्र) मा सधैं बत्ती बलेको हुन्छ । कुनै मन्दिरमा त्यो बत्ती निभ्यो भने एक अर्का मन्दिरमा गएर बालेर ल्याउने गरिन्छ । त्यसो त गर्भको बत्ती निभ्नु हुँदैन । महन्त योगीका अनुसार, बागेश्वरीको गर्भको वत्तीलाई भीडभाड पनि निभ्न नदिन विशेष सतर्कता अपनाइन्छ ।
बागेश्वरीमा भाकल गर्ने र दैनिक आउने भक्तजनबाहेक चार नवरात्रमा भीड हुने गर्दछ । असोज, माघ, असार र चैत्रमा नवरात्र (शुक्ल पक्ष) पर्छ । माघ र असारको नवरात्रबारेमा धेरैलाई थाहा छैन । थाहा पाएकाजति मन्दिर आउँछन् । तिज र शिवरात्रीमा भीडभाड हुन्छ । अन्त कही नभएको जुँगे महादेवको मन्दिर यहाँ रहेको छ, त्यो पनि तालको बीचमा । सति भएको ठाउँमा महादेव अनिवार्य हुन्छन् । मन्दिर परिसरमा सिद्धबाबाको समाधी रहेको छ । यो मन्दिरलाई सिद्धबाबाले खोजेको भन्ने पनि गरिन्छ । सिद्धबाबा भनेका शिव या त कुनै ऋषिमुनी हुन सक्ने महन्त योगीको भनाई छ । भगवतीको दाहिने पारेर कहि न कहि शिव बस्ने भएकाले सिद्धबाबालाई शिव हुन सक्ने अनुमान गरिन्छ । सिद्धबाबा पनि सधै भोगप्रसाद चढाइन्छ ।
बागेश्वरीले चिताएको कुरा पु¥याइदिने जनविश्वास रहेको छ । सन्तान नभएकाहरु, हण्डर खाएकाले बागेश्वरीमा आएर मन्नत माग्ने गरेका छन् । महन्त योगीका अनुसार, भारतका एकजना फकिर मुसलमान छन् । उनी वर्षेनी नवरात्रीमा आउँछन् । उनको कुनै सन्तान थिएन । बागेश्वरी मन्दिरमा आएर उनले सन्तान माग गरे । महन्त योगीले भने अनुसार नै तीनदेखि नौ पटकसम्म परिक्रमा गरे । शीर झुकाए । पछि उनलाई पुत्र लाभ भयो । मुसलमान भएपनि उनले आफ्नो छोराको बागेश्वरी मन्दिरमै ल्याएर मुण्डन गरे ।
बागेश्वरी सबैको विश्वास र आस्थाको धरोहर मानिन्छ । नेपालका मात्रै होइन, वर्षेनी ठूलो संख्याका भारतीयले मन्दिरमा पूजा गर्छन् । कतिपयले मन्दिरमा आएर जिब्रो चढाउँछन् । विशेष गरेर नवरात्रीमा नेपाल र भारतबाट आएका दर्जनौले जिब्रो छेड्ने गर्दछन् । नेपालगञ्जका सूर्यलाल गुप्ता (फेटेरा) ले जिब्रो नै काटेर चढाएको महन्त योगी बताउनुहुन्छ । ‘माता बागेश्वरीको शक्ति हेर्नुस् न सूर्यलालले जिब्रो काटेर चढाए । २४ घण्टाभित्र पलायो, योगीले भन्नुभयो ।
बागेश्वरी मन्दिर पहिला खरको झुपरो थियो । वि.संं २०१८ सालमा यसलाई व्यवस्थित गरियो । पुरानोलाई भत्काएर प्यागोडा शैलीमा बनाइयो । वि.सं. २००६ सालमा तत्कालिन वडाहाकिम प्रकाश शमशेरले तलाउको बीचमा रहेको जुंगे महादेवको मन्दिरलाई व्यवस्थित गरेका थिए । श्री ३ जंगबहादुरले सहयोग गरेवापत ब्रिटिसले नयाँ मुलुक दिएपछि बाँकेमा विभिन्न नाम गरेका वडाहाकिमहरु आएर बस्ती व्यवस्थित गरेका थिए । त्यसक्रममा बागेश्वरी मन्दिरको व्यवस्थापनमा कुनै न कुनै सहयोग भएको थियो । शुरुमा जंगबहादुरले सिद्धिमानसिंह राजभण्डारीलाई नयाँमुलुक पठाए । उनी जंगबहादुरसँग बेलायत भ्रमण गर्नेमध्येका हुन् । जंगका विशेष पात्र । राजभण्डारीले नै शुरुवाती बस्ती बसाएका मानिन्छ । त्यसपछि राजशमशेर, मेघराजशमशेर, प्रकाशशमशेर, धु्रवशमशेर नेपालगञ्जको वडाहाकिम भए । सबैले नेपालगञ्जको विकासमा कुनै न कुनै योगदान दिए । बागेश्वरी मन्दिर त त्यतिबेलादेखि नै प्रसिद्ध थियो । त्यसो त राणाहरुको धर्मकर्मप्रति बढी नै आस्था र विश्वास रहेको थियो ।
बागेश्वरी मन्दिरको उत्पतिबारेमा जनश्रुतीहरु धेरै छन् । बलरामपुर स्टेटका राजाको सपनामा एक दिन भगवतीले मन्दिर बनाउन भनिछन् । त्यतिबेला जंगलको बीचमा बासको घारी थियो रे । बास काट्दै जानु जुन बास काट्दा रगत आउँछ, त्यही मन्दिर बनाउनु भन्ने सपनामा भनिएको थियो । त्यही अनुसार बास फाँडियो । काट्दै जादा एउटा बासबाट रगत आएछ । त्यही नै खरको मन्दिर बनाइएछ । त्यही खरको मन्दिरलाई पछि व्यवस्थित गरिएको भन्ने गरिन्छ । मन्दिरमा चढाउनका लागि आसपासमा मिठाई पसलहरु राखिएछन् ।
नेपालगञ्ज घुम्न आउने जो कोहीका लागि बागेश्वरी मन्दिर पहिलो रोजाईमा पर्ने गर्दछ । धार्मिक, सांस्कृतिक रुपमा मात्रै होइन, यो पर्यटकीय गन्तब्य पनि हो । जनप्रतिनिधिहरु आएपछि मन्दिरको व्यवस्थापन चुस्त हुँदै गएको छ । आस्थाको धरोहर बागेश्वरीको महिमा दिनप्रतिदिन बढ्दो रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !