पीएम कप सफल बनाउन उपप्रमुखहरु एकै लहरमा

नेपालगञ्ज – नेपालगञ्जमा शुक्रबार जिल्लाका सबै पालिकाका उपप्रमुखहरु एकै ठाउँमा देखिए । यो गजबको बसाई थियो । उपप्रमुखहरुको सञ्जालको बैठकबाहेक सायदै यसरी सबै पालिकाका प्रमुखहरु एउटै कार्यक्रममा बसेका थिए होलान् ।
नेपालगञ्जमा हुन थालेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैठौ संस्करणको तयारीमा सबै पालिकाका उपप्रमुखहरु एकैठाउँमा आइपुगे । प्रदेश सांसद कृष्णा केसी नमूनाको संयोजन गज्जबको देखियो । कामले भ्याइ नभ्याई रहेका पालिकाका उपप्रमुखहरु एकैठाउँमा आएर प्रधानमन्त्री कप महिला भलिबललाई सफल बनाउन हातमा हात, काँधमा काँध मिलाउने बाचा गरे । अन्तिम समयमा आएर समेटिएको भएपनि उपप्रमुखहरुको एकमुष्ट साथ र सहयोगको बाचाले प्रधानमन्त्री कप प्रतियोगिताको मूल आयोजक कमिटिलाई हौसला प्रदान गरेको हुनुपर्छ ।
बाँके जिल्लाले प्रधानमन्त्री पाउदा थालिएको प्रतियोगिता हुनुका साथै महिला सशक्तिकरणसँग जोडिएकाले उपप्रमुखहरु गोलबद्ध हुन आइपुगेका थिए । प्रदेश सांसद एवं प्रतियोगिताका मूल आयोजक समितिका संयोजक नमूनाले जिल्लाको इज्जतसँग जोडिएको प्रतियोगिता भएकाले सबैले मिलेर सफलतापूर्वक सम्पन्न गराउनु पर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनिकुमारी खत्री, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मीले जिल्लाले प्रधानमन्त्री पाउदा थालिएको र महिला सशक्तिकरणको मुद्दासमेत भएकाले उपप्रमुखहरुको साथ र सहयोग रहेको दोहो¥याए ।
प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराउन आयोजित पत्रकार भेटघाटमा जिल्लाका सबै पालिकाका उपप्रमुखहरु देखिएका थिए । बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले प्रतियोगितामा नेपाल एपीएफ क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी, न्यू डायमण्ड एकेडेमी, भारतको पश्चिम बंगाल र एसएसबी लखनऊले सहभागिता जनाउने जानकारी दिनुभयो । एउटा प्रदेशको टीम पनि तयार गरिएको छ ।
प्रतियोगिताको उद्घाटन ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्ने आयोजकले जानकारी गराएका छन् । समापन ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्दै हुनुहुन्छ । उद्घाटनमा राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द आउँदै हुनुहुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !