काँग्रेसले दियाे अगुवा कार्यकर्तालाई प्रशिक्षण
नेपालगन्ज – नेपाली काँग्रेस, बाँकेले जिल्लाका अगुवा कार्यकर्तालाई दुई दिने प्रशिक्षण दिएकाे छ ।
पार्टीकाे प्रशिक्षण शाखाकाे आयाेजनामा जिल्लास्तरीय प्रशिक्षण दिइएकाे हाे । प्रशिक्षण कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्गले उद्घाटन गरेका थिए ।
प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिइन् ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागको निर्देशनमा आयोजित प्रशिक्षणमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति’ र नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’ विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै, प्रतिष्ठानका ‘विश्वदिप लामिछानेले ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तिर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा’ र डा.सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशिलता’ विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण अवधिमा सहभागिबीच समूहगत छलफल तथा प्रस्तुतीकरण समेत गराइएको थियो ।
प्रशिक्षण समापन समारोहमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाव प्रमुख भुवनप्रसाद श्रेष्ठ, बाँके सभापति नारायणप्रसाद गौडेल, उपसभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीलगायतले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस अवसरमा जिल्ला जिल्ला प्रशिक्षण शाखा प्रमुख अधिकारी र अर्का जिल्ला उपसभापति कृष्ण कार्कीले नेपाली काँग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने आवश्यकता र यसको उपादेयताका बारे चर्चा गरेका थिए ।