बाढीमा जोखिम मोलेर दाउरा संकलन

नेपालगन्ज – करिव ६ घण्टा लगातार परेको पानीले राप्ती नदीको जलसतह भरियो । जिल्ला दैवीप्रकोप उद्धार समितिले नदीको जलसतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध जारी ग¥यो । नदीमा पानीको सतह बढिरहेकाले जिल्लाका सम्बद्ध अधिकारी बाढीको चिन्ता गरिरहेका थिए ।
नदी आसपासका बासिन्दा भने बाढीले बगाएर ल्याएको दाउरा छोप्न नदी किनारमा भरिए । बिहानैदेखि राप्ती नदीको पुल छेउछाउमा पुगेका स्थानीयले जोखिम मोलेर दाउरा संकलन गरे । दिउँसो एक बजेसम्ममा उनीहरुले वर्षभरीलाई पुग्ने दाउरा जम्मा गरिसकेका थिए । नदी किनारमा दाउरा, दाउरा बोक्नलाई ल्याइएका ट्याक्टर, अटोरिक्सा, साइकल भरिभराउ देखिन्थे ।
कम्दीका रामचन्द्र यादवले बाढीमा आएको दाउरा संकलन गरेर वर्षभरी आगो बाल्ने बताए । ‘एक दिन जोखिम मोलेर दाउरा टिप्दा वर्षभरी खाना पकाउने दाउरा पुग्छ, यादवले भने, मैले मात्रै होइन, गाउँका सबैले दाउरा टिप्ने गर्दछन् ।’ उनले साइकलमा दाउरा राखेर ओसारिरहेका थिए । बगेर आएको दाउरालाई कटियाले आफूतिर तान्ने र छेउमा आएपछि समात्ने गरेर स्थानीयले ट्याक्टरका ट्याक्टर दाउरा जम्मा गरेका थिए ।
नदी उर्लिएको बेलामा दाउरा टिप्न जादा ज्यानको जोखिम हुने भन्दै स्थानीय प्रशासनले बाढी आएको बेलामा नदी छेउछाउमा नजान र दाउरा संकलन नगर्न चेतावनी दिने गर्दछ । स्थानीयवासी भने दाउरा छोप्न तँछाडमछाड गरेका हुन्छन् ।