दैलेखी समाजमा ६५ जनाले रक्तदान गरे
नेपालगन्ज – “रक्तदान गरौ, सामाजिक उत्तरदायित्व पुरा गरौ ”भन्ने मूल नाराका साथ दैलेखी समाज, बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिकाेत्सवका अवसरमा आज नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गरेको छ ।
दैलेखी समाज, बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह-आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेका छन् । दैलेखी समाज, बाँकेका अध्यक्ष पूर्णदेव गिरीले रक्तदानलाई निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताए । पछिल्लाे समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उनले विश्वास ब्यक्त गरे ।
प्रादेशिक रक्तसञ्चार केन्द्र, बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज, बाँकेले रक्तदान गरेर सेवा सुभारम्भ गरेको प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
कार्यक्रममा दैलेखी समाज, बाँकेका बरिष्ठ उपाध्यक्ष डिलबहादुर थापा, सचिव गणेशबहादुर खड्का, संस्थापक सदस्य हरिबहादुर बिष्टलगायत विभिन्न क्षेत्रका ब्यक्तिको उपस्थिति थियाे ।