राप्तीसाेनारी पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा
राप्तीसाेनारी – बाँकेको राप्तीसोनारी गाउँपालिकाका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
पालिकाका ९ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई दिगोपना घोषणा गरिएको हो ।
राप्तीसोनारी गाउँपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका १ हजार ३९९ जना बालबालिका रहेका छन् । ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । छुटेका १२ जना बालबालिकालाई पनि सबै प्रकारका खोप लगाइएको छ ।
उनीहरु सबैले पाउनु पर्ने खोप पाइसकेपछि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अाज एक कार्यक्रमका बीच पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
पालिका अध्यक्ष पौडेलले कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नपरोस् भन्ने सवालमा पालिका गम्भीर रहेको बताए । उनले स्वस्थ बच्चा जन्मिए मात्र मुलुक समृद्ध हुने बताए । उनले लगानीको प्राथमिकता निर्धारण गर्न पनि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकता रहेको पनि अध्यक्ष पौडेलले बताए ।
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले सबैको सहयोगका कारण पालिकालाई दिगोपना घोषणा सम्भव भएको बताइन् । उनले खोप सुनिश्चितताका लागि महिला स्वंयसेविकाहरुले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको बताइन् ।
उनले खोपमा सबै बालबालिकाहरुको सहज खोपका लागि खोप केन्द्र बिस्तारमा ध्यान दिइने पनि बिश्वास दिलाइन् । उनले खोप केन्द्रलाई आवश्यक बजेटको समेत प्रबन्ध गरिने प्रतिवद्वता जनाइन् ।
प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एेडीले खोप नियमित अभियान भएकाले यसलाई दिगोपना सुनिश्चित गर्ने काम भइरहेको बताए । उनले खोप अभियानलाई प्रभावकारी बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए ।
स्वास्थ्य कार्यालय, बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले खोपजन्य रोगबाट जोगाउनका लागि खोप कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । उनले १४ वटा विभिन्न रोगहरुबाट जोगाउनका लागि बालबालिकालाई ९ प्रकारका खोप दिने गरिएको जानकारी दिए ।
सबै बालबालिकाले खोप लगाइसकेपछि प्रत्येक वर्ष खोप सुनिश्चित गर्ने गरिएको जानकारी दिए । राप्तिसोनारी गाउँपालिकासहित अहिलेसम्म बाँकेका ८ वटा पालिकामध्ये ६ वटा पालिकालाई खोप सुनिश्चित घोषणा गरिसकेको जानकारी दिए ।