नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह
नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिन ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार शाखाका साधारण सदस्यहरूको सदस्यता नवीकरणको लागि आह्वान गर्ने निर्णय पनि गरेको छ । वि.सं. २०८१ र २०८२ सालको सदस्यता नवीकरणका लागि २०८२ जेठ १५ गतेसम्म समय तोक्ने निर्णय गरिएको सचिव कृष्ण ओलीले जानकारी दिनुभयो ।
यसैगरी २०८२ जेठ महिनाभित्र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्बन्धित पालिकासँग समन्वय र सहकार्य गरेर तालिम, अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गर्ने तथा नेपालगन्ज उद्योग बाणिज्य संघसँगको सहकार्यमा ‘मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया गर्ने निर्णय पनि गरिएको सचिव ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यालय सचिव मेराज सल्मानीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।