पत्रकारको गोलमा गैरेको बबाल डान्स

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य एवं जुमा स्पोर्टस क्लवका अध्यक्ष भीम रानाभाटले शुरुमा गोल गर्नुभयो । संघका अर्का सदस्य एवं होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले अर्को गोल थप्नुभयो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको टीमले दुई गोल गरिसक्दा नेपाल पत्रकार महासंघ, बाँकेको टीम निराश देखियो । त्यसपछि महासंघको टीमले आक्रमक रणनीति अपनायो । महासंघबाट कुमार श्रेष्ठले एक गोल फर्काउनु भयो । अतिरिक्त खेलाडीको रुपमा जर्सी लगाएर बाहिर बस्नु भएका झलक गैरेले बबाल डान्स गर्नुभयो । गैरेको डान्सले सबैको ध्यान खिच्यो । गैरे भन्दै हुनुहुन्थ्यो, ‘बराबरी गर्नुुस् जिम्न्यास्टिकसहितको डान्स गर्छु ।’


पहिलो हाफ यत्तिकैमा सिधियो । दोस्रो हाफमा पत्रकारले आक्रमक खेल खेले । कुमार श्रेष्ठले लगातार दुई गोल गरेर ह्याट्रिक पूरा गरे । गैरेको डान्सको त सीमा नै रहेछ । फुटसल मैदान गुञ्जयमान भयो । महासंघका तर्फबाट गोविन्द शर्मा र सौरव गिरीले एक÷एक गोल थप्दा संघका तर्फबाट उपाध्यक्ष अमित बस्नेत एक गोल फर्काउनुभयो । पत्रकार टीम ५–३ गोलले विजयी भयो ।
नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघले स्व.भरतबहादुर कडायतको ४५ औं दिनको पुण्य तिथिको सम्झनामा नेपालगञ्जमा अन्तर व्यवसायी फुटसल प्रतियोगिता आयोजना गर्दा पत्रकार महासंघ र उद्योग बाणिज्य संघका पदाधिकारीका बीचमा मैत्रीपूर्ण फुटसल खेलाइएको थियो ।
प्रतियोगिताको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले गर्नुभयो । प्रतिगोगितामा आठ वटा टीमको सहभागिता रहेको छ । नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष एवं व्यापार संघका सदस्य विष्णु श्रेष्ठका अनुसार, नेपालगञ्ज जुत्रा चप्पल व्यवसायी संघ, नेपालगञ्ज इलेक्ट्रिकल एशोसियसन, मदिरा व्यवसायी संघ, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ, नेपाल पाठ्यपुस्तक तथा स्टेशनरी व्यवसायी संघ, नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियसन, तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ र अटो मोबाइल्स व्यवसायी संघले भाग लिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !