नेपालगञ्ज उपमहानगरपालिकाले सम्पूर्ण योजना चैत्रमै सक्ने
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७६-७७ का अधिकाँश योजना कार्यान्वयनको चरणमा रहेका छन् । उपमहानगरपालिकाले मंगलबार पत्रकारलाई बोलाएर विकास निर्माणको कार्य सन्तोषजनकरुपमा अघि बढेको जनाएको हो ।
मेयर डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, प्रबक्ता प्रमोद रिजाललगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा चैत महिनाभित्र सम्पूर्ण योजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अघि बढाइएको जानकारी दिइयो ।
मेयर राणाले विकास निर्माणका नियमित कामसँगै शिक्षा, स्वास्थ्य विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । १० करोडको लागतमा छात्रा कलेज र एक करोडको लागतमा छात्रावास तथा तीन करोडको लागतमा छात्रा विद्यालय निर्माणाधिन रहेको उहाँले जानकारी दिनुभयो । ‘फोहर व्यवस्थापनमा समेत पछिल्लो समय धेरै सुधार भएको छ,’ नगर प्रमुख राणाले भन्नुभयो ।
उपमेयर उमा थापा मगरले नगरको समग्र विकासका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताउनुभयो ।
नेपालगञ्जलाई आर्थिक शहरको रुपमा विकास गर्न नेपालगञ्ज–पोखरा उडान सञ्चालनका लागि पहल भइरहेको उहाँको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले पुँजीगत खर्च पनि सन्तोषजनक रहेको बताउनुभयो । पत्रकार भेटघाटमा चालु आवमा नगरमा सञ्चालित विकास निर्माणका कार्यसँगै भावी योजना पनि सार्वजनिक गरिएको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । उपमहानगरपालिकाले पत्रकार अक्षय कोषका लागि चालु आवमा चार लाख वजेट विनियोजन गरेको र आगामी वर्ष क्रमशः वजेट थप गरिने जनाएको छ ।
नगर विकास समितिमा जनप्रतिनिधि आएपछि वाटरपार्क परियोजनाको अस्थायी लालपुर्जा वितरण भएको र स्थायी पूर्जा वितरण गरि निर्माणका अन्य काम शुरु गरिने जानकारी दिइएको छ ।