किसानलाई ब्याजमा अनुदान
नेपालगञ्ज – साना किसानलाई लक्षित गरेर ५ नम्बर प्रदेश सरकारले सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको छ ।
५ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँकेबाट त्यसको शुभराम्भ गर्नुभयो । नयाँ कार्यक्रमले एकदेखि दश लाखसम्म ऋण लिनेलाई पहिलो वर्ष दश प्रतिशत, ३० लाखसम्मलाई ८ प्रतिशत र एक करोडसम्ममा ६ प्रतिशत ब्याजमा अनुदान दिनेछ ।
मन्त्री पौडेलले साना किसानलाई लक्षित गरेर प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताउनुभयो । यो कार्यक्रमले साना किसान प्रोत्साहित हुने मन्त्री पौडेलको दावी थियो । उहाँले यो कार्यक्रमले किसानलाई जति धेरै उत्पादन गर्यो, उति नै अनुदान बढी दिने जानकारी दिनुभयो ।
सरकारले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु वास्तविक किसान भन्दा विचौलिया हावी हुने गरेको तितो यथार्थ रहेको छ । मन्त्री पौडेलले यो कार्यक्रमले विचौलियालाई नभई वास्तविक किसानलाई फाइदा हुने बताउनुभयो ।
पालिकाहरुको समन्वयमा कार्यक्रमलाई अघि बढाउदा अझ उत्तम हुने जनप्रतिनिधिको भनाई रहेको छ । बर्दिया बाँसगढीका मेयर शालिकराम अधिकारीले उत्पादनमा आधारित अनुदान अति नै राम्रो कार्यक्रम भएकाले स्थानीय पालिकासँग समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताउनुभयो ।
कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख सागर ढकालले सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम दुई वर्ष र केही खेतीको हकमा पाँच वर्षसम्म सञ्चालन हुने बताउनुभयो ।
नयाँ कार्यक्रमलाई किसानले उत्साहपूर्वक हेरेका छन् । किसान लालबहादुर खत्री, खड्गबहादुर खड्का, सुरेन्द्र खड्का, डोरप्रसाद अर्याललगायतले अहिलेसम्मका कार्यक्रमहरु किसानमैत्री हुन नसकेकाले यो कार्यक्रमलाई किसानमैत्री बनाउन सुझाव दिनुभयो ।