सालको रुख बढाउन ‘वन सम्वर्द्वन प्रणाली’
नेपालगन्ज – सालको रुख बढाउन बाँकेमा ‘वन सम्वर्द्वन प्रणाली’ लागु गरिएको छ ।
कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालय, बाँकेले सालको रुख संरक्षण र बढाउन यो प्रणाली सञ्चालन गरेको हो । वनको क्षेत्रफल घट्दै गएको र अझ त्यसमा सालका रुख कम गइरहेको छ । यहाँका जंगलमा अहिले ७० प्रतिशतबढी कुकाठका रुख छन् । जुन रुख दाउराको रुपमा प्रयोग गर्नबाहेक खासै काम आउँदैनन् ।
सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार, जिल्लामा १ सय १९ वटा सामुदायिक वन, ४ वटा धार्मिक वन, एउटा चक्ला वन १ सय २४ वटा निजी वन छन् । यसमध्ये २५ वटा सामुदायिक वन र एउटा चक्ला वनमा वन सम्वद्र्धन प्रणालीमा आधारिक दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ ।
शमशेरगन्ज–माथेबस चक्ला वनको २ हजार ५ सय ७८ हेक्टर र २४ वटा सामुदायिक वनको ५ हजार ८ सय २५.१३ हेक्टर क्षेत्रफलमा वन सम्वद्र्धन प्रणाली सञ्चालन गरेर सालको रुख बढाउने काम भइरहेको छ । डिभिजन वन कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाइरहेको छ ।
एउटा सालको रुख ८० वर्षमा हुर्किन्छ । सालको रुख रोपेर भन्दा आफै उम्रिएको राम्ररी हुर्किन्छ । वन सम्वद्र्धन प्रणालीमा सालको रुख काट्ने र त्यहाँ आफै उम्रिएका विरुवाको संरक्षण गर्ने गरिन्छ । डिभिजन वन कार्यालयले ८० भागको एक भाग रुख हरेक वर्ष काट्ने गर्दछ । सिनियर डिभिजन वन अधिकृत गुप्ताले अरु वनमा ढलापडा रुखमात्रै काटेर संरक्षण गरिन्छ भने सालको राम्रै रुख काटेर व्यवस्थापन गरिने बताउनुभयो ।
शमशेरगञ्ज सव डिभिजन कार्यालयअन्तर्गत रहेका १९ मध्ये १३ वटा सामुदायिक वनमा वन सम्वद्र्धन प्रणाली लागु गरिएको वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले बताउनुभयो । त्यहाँको त्रिशक्ति सामुदायिक वनमा सालका रुख हुर्किरहेका छन् । सालका रुख आफै उम्रिने र त्यसलाई जोगाउन डिभिजन कार्यालयले हेरालु खटाएको छ । सालको हुर्किन समय लाग्ने भएकाले यो चिजको रुपमा रहन थालेको छ । विगतमा जंगलैभरी सालका रुख हुन्थे । वन क्षेत्र घट्नु र चोरको निशानामा पनि सालका रुख पर्ने भएकाले जंगलमा सालका रुख कम देखिने गरेको छ । पुराना सालका रुखलाई काटेर नयाँ संरक्षण गर्नुपर्ने देखिएकाले वन कार्यालय त्यसमा जुटेको छ ।
डिभिजन वन कार्यालयले श्रीखण्ड प्रजातीको विरुवामा पनि जोड दिन थालेको छ । एक किलोकै तीन हजार बढीमा बिक्री हुने श्रीखण्डको उत्पादन बढाउन वन कार्यालयले यो वर्षदेखि निशुल्क विरुवा वितरण गर्ने रणनीति बनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकृत टंक गुरुङका अनुसार, यो वर्ष १८ हजार विरुवा उत्पादन गरेर बाँड्ने योजना रहेको छ ।
वर्षमा नौ करोडबढी बजेट खेलाउने वन कार्यालयले वृक्षरोपणलाई प्राथमिकता दिने गरेको छ । डढेलो र चोरी शिकारी वनका मुख्य समस्या र चुनौतीको विषय रहदै आएको छ ।