काँग्रेस र एमालेमात्रै मिलेर संविधान संशाेधन गर्नु हुँदैन – काेइराला
राप्तीसाेनारी – नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेस र एमाले मात्रै मिलेर मात्रै संविधान संसोधन गर्न नहुने धारणा राखेका छन् । डा.कोइरालाले थपे, ’संविधान सबैको हो, त्यसैले संशोधन गर्दा पनि अधिकतम सहमति कायम गर्नुपर्छ।’
नेता डा.कोइरालाले एमाले मुख्य प्रतिष्पर्धी दल भएकाले प्रतिष्पर्धी दल र काँग्रेस मिलेर अघि बढ्दा निरकुंशता जन्मने सक्ने सम्भावना रहेको समेत बताए।
काँग्रेसको राप्तीसाोनारी गाउँपालिका स्तरीय सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा.कोइरालाले उक्त कुरा बताएका हुन् ।
लगातार देश दौडाहमा रहेका नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन् ।
बाँके काँग्रेसको नेतृत्व इतर समूहका नारायण प्रसाद गौडेलले गरेका छन् ।
नेपालगन्जमा काँग्रेस नेता तथा कार्यकर्ताहरुले गरेको स्वागतबाट डा.कोइराला उत्साहित देखिन्छन्।
यसैबीच, बाँकेमा संस्थापन पक्ष भित्र र इतर पक्षमा पनि एकरुपता देखिंदैन । बाँके काँग्रेसमा संस्थापन तर्फ सहमहामन्त्री किशोर सिंह राठौर र हमाल परिवारको तिक्तता छ । समूहको तिव्र ध्रुविकरणका बीच महामन्त्री गगनकुमार थापा पक्ष समेत सक्रिय छ। त्यसैगरी डा.सशांक कोइराला पक्षधरहरुको समेत भूमिका देखिन्छ ।
कार्यकर्ता भेटघाटका लागि स्थानीय एक होटलमा काँग्रेस केन्द्रिय सदस्य मैकुलालाल वाल्मिकी काँग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, पूर्व प्रदेश मन्त्री सुरेन्द्र हमाल सहितका नेताहरुले भेटेर आगामी महाधिवेशनमा कसरी सहकार्य गरेर जाने भन्ने विषयमा छलफल गरेका थिए। प्रदेश सभा सदस्य वादशाह कुर्मी र काँग्रेस क्षेत्र नं. ३का सभापति नक्कि खाँ सहितका संस्थापन पक्षीय नेताहरु सहभागी थिए ।
काँग्रेस सभापति रहेका स्व.सुशील कोइरालाको गृह जिल्ला समेत रहेको बाँकेमा संस्थापन पक्ष र इतर पक्षको तिव्र ध्रुविकरण छ।
काँग्रेस लुम्विनी प्रदेश सदस्य टेकनारायण भुसाल भन्छन्, ’पार्टी सिद्धान्ततः अगाडी बढाउने विषयमा डा.कोइराला उपयुक्त पात्र हुन सक्छन्।’
आइतबार काँग्रेस बाँकेको पार्टी कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेता डा.कोइरालाले काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सबै तहका सरकारका कामको लेखजोखा गरेर मुल्यांकन गर्न अपील गरेका छन्।
ब्यक्ति बलियो होइन, संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै महाधिवेशन केन्द्रित देश दौडाहमा रहेका डा.शेखर कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताइरहेका छन् ।