एमालेको तीन महिने ‘जरा अभियान’ शुरु


नेपालगन्ज – नेकपा एमाले, बाँकेले ‘जरा’ अभियान शुरु गरेको छ ।
एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले पार्टी सदस्यको नविकरणबाट तीन महिने जरा अभियानको शुरुवात भएको जानकारी दिए ।
जरा अभियानअन्तर्गत एमालेका नेता तथा कार्यकर्ता प्रत्येक जनताको घरघरमा पुग्दैछन् । जनताको घरमा गएर उनीहरुसँग भेट गरेर समस्या बुझ्ने र समाधानको पहल गर्ने नीति लिइएको छ । अभियानको क्रममा प्रत्येक टोल कमिटिले कम्तीमा एउटा रचनात्मक गतिविधि गर्न भनिएको छ । सरसफाई, रक्तदान, पार्टी र राष्ट्रियतासम्बन्धी हाजिरीजवाफ, गाउँ÷टोलको समस्या समाधानका लागि छलफललगायतका गतिविधि गर्न भनिएको छ ।
मिसन २०८४ लाई ध्यानमा राखेर एमालेका नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्न थालेको केन्द्रीय सदस्य दिपा शर्माले जानकारी दिइन् । ‘पार्टीले बेलाबेलामा विभिन्न नाममा मिसन कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यो जरा अभियान पनि त्यस्तै जनताको घरदैलोमा जाने कार्यक्रम हो, केन्द्रीय सदस्य शर्माले भनिन्, प्रत्येक जनताको घरघरमा पुगेर हामी उनीहरुको समस्या बुझ्छौं । कुरा सुन्छौं । पार्टीलाई बलियो बनाउन लागि पर्छौ ।’
एमालेले यसअघि मिसन ग्रासरुट, समृद्धिका लागि अभियान चलाइसकेको छ । अभियानको शुरुवात कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, सूर्य ढकाल, पशुपतिदयाल मिश्रलगायतको नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !