कोहलपुरमा निःशुल्क आँखाको स्क्रिनिङ र शल्यक्रिया शिविर


कोहलपुर – काेहलपुर नगरपालिकाले भोलिदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको विशेष पहलमा तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुरमा आँखाको विशेषज्ञ उपचार सेवा दिन लागिएको हो । ‘आँखाका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि तिलगंगाको टिमलाई गरिएको आग्रह स्वीकार भएको छ नगर प्रमुख आचार्यले भने–‘ तिलगंगाकै विशेषज्ञ टिम आएर चेकजाँच गर्ने भएकाले आँखामा समस्या भएका बिरामीले लाभ लिन सक्नेछन् ।’ आँखा शिविरमा आँखाको स्क्रिनिङ तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क गरिनेछ । विशेषज्ञ टिमले पाँच दिनसम्म आँखाको स्क्रिनिङ गर्नेछ भने तीन दिन शल्यक्रिया गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए ।

९ गते कोहलपुर नगरपालिका १४ स्थित राम माविमा पहिलो शिविर बस्नेछ । वडा नं.७, ८, ९, १४ र १५ का वडाबासीले यो शिविरमा सेवा लिनेछन् । त्यसैगरी १० गते कोहलपुर नगरपालिका ४ मदन चोकस्थित रझेना स्वास्थ्य चौकीमा आयोजना गरिएको दोस्रो शिविरमा वडा नं.३, ४, ५ र ६ का वडाबासीले सेवा लिनेछन् । ११ गते कोहलपुर नगरपालिका २ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको तेस्रो शिविरमा १ र २ नम्वर वडाका वडाबासीले सेवा लिनेछन् । कोहलपुर नगरपालिका १२ चपरगौरीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको चौथौं शिविरमा १२ र १३ नम्वर वडाबासी र कोहलपुर नगरपालिका ११ मा १३ गते आयोजना गरिएको पाँचौं शिविरमा वडा नं. १० र ११ का स्थानीयबासीले सेवा लिनेछन् ।

शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोहलपुर नगर अस्पतालमा १६, १७ र १८ गते निःशुल्क शल्यक्रिया हुनेछ । शल्यक्रिया गर्नुपर्ने कोहलपुर नगरभित्रका बिरामीलाई खाजा खर्चसहित घरसम्म पुर्याउने व्यवस्था समेत मिलाइएको स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताए ।


error: यो सुविधा उपलब्ध छैन !