जोखिमपूर्ण यात्रामा रहेका ५९८ को नेपालगन्ज नाकाबाट उद्धार


नेपालगन्ज – माइती नेपाल, नेपालगन्जले एक वर्षमा जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ ।
माइती नेपाल, नेपालगन्जले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरेको हो । काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि ५ सय ९८ जनालाई फिर्ता गरिएको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै संयोजक कोइरालाले एक वर्षमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको बताए । त्यसमध्येमा ४ सय ७ जना फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको छ । त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।
नेपालगन्ज नाका सधैं भीडभाड हुने भएकाले दलालले मानव तस्करीको लागि यो नाकालाई रोज्ने गरेको कोइरालाको भनाई छ । त्यसो त नेपालगन्ज नाकामा मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि माइती नेपाल, साथी संस्थालगायत एक दर्जनको चेकप्वाइन्ट रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !