जेल : खाउ, बस, गफ लगाऊ

नेपालगञ्ज – दुई जना बृद्ध छतमा कुराकानी गरिरहेका थिए । फाल्गुन शुरुवातको पारिलो घाममा चटई ओछ्याएर बसेका उनीहरुले दुई घण्टाबढी गफ गरे । उनीहरुको कुरा गराई, हाउभाउ हेर्दा खुशी नै देखिन्थे ।
घामको राप घट्दै जादा उनीहरु उठे । एकजनाले चटई पटाएर बोके, अर्को रित्तो हात तल झरे । यी दुई जनाको दोस्ती लामो होइन, कारागारमा पुगेपछि भएको हो । नाम नभनौ, गम्भीर अपराधमा मुछिएका उनीहरु यतिबेला कर्मको फल भोगिरहेका छन् ।
नेपालगञ्ज कारागारमा समय कटाउने यस्तो दोस्ती धेरैका छन् । उनीहरुका लागि गाउँघर, वल्लोघर, पल्लोघर भनेको नै विभिन्न काण्डमा मुछिएर आएका व्यक्तिहरु हुन् । कारागारको चार दिवालभित्रको दोस्ती । कर्मले ठगेको दोस्ती, आवेगलाई नियन्त्रण गर्न नसकेको दोस्ती, लोभ र पापले गर्दा जुराएको दोस्ती ।
नेपालगञ्ज कारागारमा महिला र पुरुष गरेर ८ सय २६ जना बन्दी छन् । उनीहरुका बीचमा ‘समय कटाउने’ दोस्ती छदैछ । क्षणिक आवेगमा गरेका गल्ती, पापले गर्दा त्यहाँ पुगेका उनीहरुको खाने, बस्ने र गफ लगाउने बाहेक कुनै काम छैन ।
सरकारले एकजना बन्दीलाई दैनिक ६० रुपैया र सात सय ग्राम चामल दिन्छ । उपचार खर्च व्यहोर्छ । यत्तिका खर्च गर्दा उनीहरुसँग काम लिन सकेको छैन । घरपरिवारले हेलाँ गरेका, खाने बस्ने ठाउँ नभएका व्यक्तिका लागि कारागार अहिले उत्तम विकल्प बन्दै गइरहेको छ । गफ गर्ने साथी पाएका छन् । काम गर्नु परेको छैन । खाना पाएकै छन् । उपचार खर्च भएको छ । फरक यति हो कि गाउँ घुम्न पाएका छैनन् ।
अपराधमा लागेका, परिवन्धमा परेका व्यक्तिलाई सुधार्न कारागारमा राख्ने गरिन्छ । नेपालका कारागारमा सुधार्ने कुनै उपाय अपनाएको देखिदैन । खाली थुनेर राखेर मान्छे सुध्रिन्छ ? काउन्सिलिङ गर्नु पर्दैन ? अनि, राज्यले त्यत्रो लगानी गरेपछि उनीहरुसँग काम लिनु पर्दैन ?
हुन त नेपाल सरकारले खुल्ला कारागारको अवधारणा अघि सारेको छ । दिनभरी बाहिर काम गर्ने र राती कारागारमा गएर सुत्नु पर्ने खुल्ला कारागारको अवधारणामा पर्दछ । यसो गर्दा उनीहरुले कारागारमै बसेर पनि आम्दानी गर्न सक्छन् । बाँकेमा बन्न थालेको खुल्ला कारागार निर्माण अलपत्रजस्तै देखिदा सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ गरिरहेको छ । पछिल्लो समयमा नेपालका कारागारमा पुग्दा अपराध गरेका र परेकाहरुले कोचिएर सुत्नु पर्दाको दुःखले गर्दा पछुताएर अर्को पटक त्यस्तो गल्ती नगर्ने गरी सुध्रिन सक्छन् ।


error: यो सुविधा उपलब्ध छैन !