जापान सरकारले बनाइदियो दुई वटा प्रसुती गृह

नेपालगञ्ज – जापान सरकारले बाँकेका दुई वटा स्वास्थ्य चौकी भवनको मर्मत र नविकरण गरेर उपकरण सहयोग गरेको छ ।
जापान सरकारको सहयोगमा बाँकेमा सञ्चालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा स्वास्थ्य चौकी र कचनापुर स्वास्थ्य चौकीकोे प्रसुती गृह भवन मर्मत, नविकरणसँगै उपकरण सहयोग गरेको हो । नविकरण गरिएका भवनमा सुरक्षित प्रसुती कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवास कक्षलगायत बाथरुम, शौचालय, सेप्टि ट्यांक, प्लासेन्टा पिटको निर्माण तथा स्तरोन्नति गरिएको छ । त्यहाँ नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणको पनि व्यवस्था गरिएको छ ।
जापान सरकारले आड्रा नेपाल र इन्रुडेकमार्फत स्वास्थ्य चौकीका दुई भवनको मर्मत र नविकरण गरेको थियो । ती दुवै भवनलाई बिहीबार हस्तान्तरण गरिएको छ । जापानीज राजदुताबासका प्रथम सचिव आचुमी शिमिजु, जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तव, आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटन फ्लेचर, आड्रा नेपालका परियोजना व्यवस्थापक युका ओनिसी, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, इन्रुडेकका धर्मलाल रोकायले मर्मत, नविकरण गरेका भवनसँगै उपकरणहरु राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई हस्तान्तरण गर्नुभयो ।


जापानीज राजदुताबासका प्रथम सचिव आचुमी, जिल्ला समन्वय समिति, बाँकेका संयोजक श्रीवास्तव, आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटनले उपकरण तथा भौतिक सुविधासहितको संरचनाबाट विशेष गरी विपन्न वर्ग, समुदायका गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र पाँच वर्ष मुनिका बालबालिकाहरुलाई प्रत्यक्ष लाभ हुने विश्वास गर्नुभयो । प्रथम सचिव आचुमी र आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटनले भन्नुभयो, स्थानीय सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर प्रदान गरेकोमा स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्दछु ।
दुवै स्वास्थ्य चौकीको प्रसुती भवनको मर्मत र नविकरण गर्न ३२ लाख बढी खर्च भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १ मा खासकुश्मा स्वास्थ्य चौकीमा साउनयता ५३ जनाले प्रसुती सेवा लिएका छन् । अनमी सोफिया खड्काका अनुसार, दिनमा तीन जनासम्म गर्भवती सुत्केरी हुन आउँछन् । यो बीचमा १५ जनालाई रिफर गरिएको छ । वडा नं. २ मा पर्ने कचनापुर स्वास्थ्य चौकीमा साउनयता ४७ जना सुत्केरी भएका छन् । चौकीका हेल्थ असिस्टेन्ट जगतराम चौधरीले नयाँ भवन बनेपछि समस्याहरु हटेको बताउनुभयो ।


परियोजनाले बाँकेको भेरी अस्पताललगायत ४८ वटा सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि उपकरण उपलब्ध गराउने तथा ६ वटा स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने योजनासहित काम गरिरहेको आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटनले जानकारी दिनुभयो । मार्च २०१९ मा शुरु भई फेब्रुअरी २०२२ सम्म सञ्चालन हुने परियोजनाबाट बाँकेका ५ लाख ६१ हजार ४ सय ९७ जना लाभान्वित हुने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !