नेपाल उद्योग तथा व्यवसायी महासंघले पालिका इञ्चार्ज तोक्यो


नेपालगन्ज – नेपाल उद्योग तथा व्यवसायी महासंघ, जिल्ला कार्यसमिति बाँकेले आठ वटै पालिकामा महासंघको इञ्चार्ज मनोनयन गरेको छ ।

महासंघका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले अन्य निर्णय सहित जिल्लाका पालिकाहरुमा उपशाखा गठन गर्नका लागि र गठन भइसकेको पालिका कमिटिलाई सक्रिय बनाउनका लागि महासंघको जिल्ला कमिटिका पदाधिकारीहरु मध्येबाट सर्वसम्मत रुपमा इञ्चार्ज मनोनयन गरेको हो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ, लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेको आठौं महाधिवेशनले पार्टीको २३ वटा भातृ संगठनहरु मध्ये पार्टीमा आवद्ध उद्योग व्यवसायीहरुलाई पनि संगठित गर्ने नीतिगत निर्णय अनुसार नेपाल उद्योग तथा व्यवसायी महासंघले जिल्ला जिल्लामा शाखा विस्तार गर्दै आएको छ । उहाँले महासंघले उद्योग व्यवसायीको हक हितका साथै राजनीतिक रुपमा पार्टीलाई पनि बल पु¥याउने खालका काम गर्दै आएको जानकारी बैठकमा दिनु भयो ।
महासंघका बाँके जिल्ला सचिव विष्णु खनालका अनुसार उक्त बैठकले नेपालगन्ज उपमहानगरपालिकाको इञ्चार्ज उपाध्यक्ष उषा थापा, कोहलपुर नगरपालिकाको इञ्चार्जमा अर्का उपाध्यक्ष श्याम सुन्दर अधिकारी, वैजनाथ गाउँपालिकाको इञ्चार्जमा सचिव विष्णु खनाल, खजुरा गाउँपालिकाको इञ्चार्जमा उपसचिव रामचन्द्र तिवारी, डुडुवा गाउँपालिकाको इञ्चार्जमा उपसचिव अनन्त कुमार शाह, राप्ती सोनारी गाउँपालिकाको इञ्चार्जमा कोषाध्यक्ष पिताम्बर मरासिनी, जानकी गाउँपालिकाको इञ्चार्जमा कमल कार्की र नरैनापुर गाउँपालिकाको इञ्चार्जमा सरोज कुमार चौधरीलाई जिम्मेवारी दिएको छ ।
बैठकले महासंघको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन असोज १२ गते बुटवलमा हुन लागेको हुँदा बाँके जिल्लाबाट उल्लेखनीय सहभागिता जनाउने र प्रदेशमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य शान्ति ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका उक्त महासंघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपाल उद्योग तथा व्यवसायी महासंघ नेपाल उद्योग वाणिज्य महासंघ जत्तिकै समान हैसियत भएको संगठन भएको उल्लेख गर्दै महासंघ उद्योगी व्यवसायीहरुको हकहितको लागि समर्पित हुँदै नेकपा एमालेको सिद्धान्त, नीति तथा कार्यक्रमलाई पनि सहयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
महासंघका अध्यक्ष भीम बहादुर रानाभाटले यो महासंघ नेकपा एमालेको २३ वटा जनवर्गीय संगठन मध्ये एक भएको बताउँदै व्यवसायिक हक हितका लागि योजनावद्ध रुपमा काम गर्ने सोंच भएकोले सबैबाट सकारात्मक सहयोगको लागि आव्हान गर्नु भयो ।
सो बैठकमा सल्लाहकारहरु महासंघका संस्थापक अध्यक्ष मधुसुदन शर्मा रिजाल, शेमराज शाक्य, विष्णु मैनाली, ज्ञानेन्द्र कुमार श्रेष्ठ, रचना श्रेष्ठ, सुदिप पौडेल, प्रेस सल्लाहकार पत्रकार पूर्णलाल चुके तथा कानुनी सल्लाहकारमा अधिवक्ता बसन्त गौतम लगायत दुई दर्जन बढीको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !