रंगशालाको फुटबल मैदान माग्दै ज्ञापन


नेपालगन्ज – बाँके जिल्ला फुटबल संघले रंगशालामा फुटबल खेल्न पाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिमा ज्ञापन पत्र बुझाइसकेको संघले बुधबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ध्यानाकर्षण गराएको हो । एन्फाका केन्द्रीय सदस्य एवं संघका अध्यक्ष भोजराज शाहीले प्रमुख जिल्ला अधिकारी रिजाललाई फुटबल मैदान उपलब्धको लागि सिफारिस गराई पाउँ भन्दै ज्ञापन पत्र बुझाउनु भएको हो । संघले नेपालगन्ज उपमहानगरपालिका, जिल्ला खेलकुद विकास समिति र एन्फा केन्द्रमा बोधार्थ पठाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु भन्दा अघिदेखि नै रंगशालामा फुटबल खेल्न रोक लगाइएको छ । करिव सात वर्षदेखि रंगशालामा फुटबल खेल्न रोक लगाइएपछि बाँके जिल्ला फुटबल संघले मैदान उपलब्धका लागि चौतर्फी दबाब बढाएको हो ।
ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी रिजालले तत्काल नै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दलाई फोन गरेर के भएको हो भन्ने प्रश्न गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारीको प्रश्नमा चन्दले दशैंपछि खुल्ला हुने आश्वासन दिनु भएको थियो ।
बाँके जिल्ला फुटबल संघले १२ वर्ष मुनिका बालबालिकालाई कात्तिक १ गतेदेखि एक वर्षसम्म बृहत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लामा फुटबल खेलाडी उत्पादन गर्ने गरी थालिएको प्रशिक्षण कार्यक्रमका लागि मैदान उपलब्ध गराइदिन आग्रह गरिएको हो ।
रंगशालाको फुटबल मैदानमा फुटबल खेल्न रोक लगाइएपछि त्यहाँ झार पलाएर झाडी भएको छ । यता खेलाडीले खेल्न नपाउँदा जिल्लाको टीम नै खस्किदो अवस्थामा रहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशालाको स्तरोन्नति गर्दा फुटबल मैदान पनि राम्रो बनाइएको थियो । रंगशालामा राम्रो प्यारापिट बनाइएको छ । उचित संरक्षणको अभावमा मैदान झाडीमा परिणत भएको छ भने प्यारापिट मक्किदै गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !