दशैंका लागि धमाधम नुन ‘प्याकिङ’

नेपालगन्ज – साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगन्जका कर्मचारीलाई यतिबेला भारतबाट नुन ल्याउने र प्याकिङ गरेर हिमाली तथा पहाडी जिल्लामा पठाउन भ्याइनभ्याई भएको छ ।

भारतको गुजरातबाट सीतापुरसम्म रेल र त्यहाँबाट ट्रकमा नुन आउँछ । त्यो नुनलाई कार्यालयमा ल्याएर प्याकिङ गर्दै ढुवानी गर्ने गरिन्छ । ट्रकमा आएको नुन झार्न र प्याकिङ गर्न कर्मचारी (करार)लाई भ्याइनभ्याई रहेको छ । दशैं, तिहारजस्ता ठूला चाडबाडमा नुनको अभाव हुन नदिन कार्यालय चनाखो भएको छ ।

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगन्जले बाँके र बर्दिया तथा कर्णाली प्रदेशका जिल्लामा नुन पठाउने गर्दछ । कर्पोरेसनले आयो नुन २६ र न्यू शक्ति २० रुपैया प्याकेटमा बेच्ने गर्दछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, रुकुम र रोल्पामा उसले ढुवानी अनुदान दिइएको ‘भानु नुन’ बिक्री गर्ने गर्दछ । यो नुनको मूल्य प्रतिप्याकेट नौ रुपैया पर्छ । भानु नुन बजारमा बिक्री वितरण गर्न पाइदैन । जनसंख्याको आधारमा कोटा छुट्याएर सरकारले यी जिल्लामा सहुलियतमा भानु नुन दिदै आएको छ । भानु नुन वर्षमा ३५ हजार क्वीन्टल जाने कर्पोरेशनका प्रवन्धक मनोज चौधरीले जानकारी दिनुभयो ।

सरकारको सहुलियतले गर्दा हिमाली जिल्लामा नुन आधाबढी सस्तो रहेको छ । सरकारले नुनको मूल्य भन्दा ढुवानी खर्च बढी व्यहोर्ने गर्दछ । कार्यालयका प्रमुख चौधरीले ५० लाख नुनको मूल्य पर्दा ढुवानी खर्च डेढ करोड हुने बताउनुभयो । सहुलियतमा दिइएको नुन बजारमा बिक्री वितरण हुने जोखिम रहने गर्दछ । त्यसका लागि कर्पोरेसनले निगरानी गरिरहन्छ । हुम्लामा समेत स्थलमार्गबाट नुन पठाउन थालेपछि ढुवानी खर्च केही कम चौधरीको भनाई छ । प्रतिकिलो जहाजमा एक सय ३३ रुपैया परेकोमा अहिले प्रतिकिलो २० रुपैया ढुवानी खर्च भएको छ । एक जनालाई एक दिनमा चार ग्राम नुन आवश्यक पर्छ । तर, दश ग्रामसम्म खाने गरेको पाइन्छ । वर्षमा एक व्यक्तिलाई ६ किलो नुन चाहिन्छ । कार्यालयले प्रतिव्यक्ति दश किलोको हिसावले पठाउने गर्दछ ।

केही वर्षयताको तथ्यांक हेर्दा नुनको खपत घट्दोक्रममा रहेको छ । उपभोक्ताको संख्या कम हुँदा खपत कम भएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ४३ हजार १ सय ९२ क्वीन्टल नुन ढुवानी भएको थियो । अर्को वर्ष साढे ६ हजार क्वीन्टल नुन कम ढुवानी भयो । यो आव ०७६÷७७ मा ३७ हजार ८ सय ५२ क्वीन्टल नुन ढुवानी भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा ४१ हजार ६ सय २५ क्वीन्टल नुन ढुवानी भयो । आर्थिक वर्ष ०७८÷८९ मा ३८ हजार २ सय ४१ क्वीन्टल, आर्थिक वर्ष २०८९÷८० मा ३४ हजार ४ सय ६८ क्वीन्टल, आर्थिक वर्ष २०८०÷८१ म ३७ हजार ८ सय ११ क्वीन्टल नुन ढुवानी भएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा ३५ हजार क्वीन्टल नुन ढुवानी गर्ने कोटा निर्धारण गरिएको छ । प्रवन्धक चौधरीले चाडबाडमा मात्रै होइन, अरु बेला पनि नुनको अभाव नहुने बताउनुभयो । ‘हामीले सबै जिल्लाका डिपोमा नुन पर्याप्त राख्ने गरेका छौं, प्रवन्धक चौधरीले भन्नुभयो, डिपोमा नुन कम हुने वित्तिकै फेरि पठाइहाल्छौं ।’

दशैंमा चिनी बेच्दै कर्पोरेसन

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, नेपालगन्जले दशैंलाई लक्षित गरेर ६० मेट्रिक टन चिनी ल्याएको छ ।

साल्ट टे«डिङले सुर्खेतमा पु¥याएर डिलरलाई प्रतिकिलो एक सय ६ रुपैयामा चिनी दिने बताएको छ । तर, खुल्ला नाकाबाट भित्रिने चिनी सुर्खेतमा व्यापारीले ९५ रुपैया प्रतिकिलोमा पाइरहेको बताउदै आएका छन् । खुल्ला नाकाबाट अवैध रुपमा भित्रिने चिनी सस्तोमा बिक्री वितरण हुने गर्दछ । साल्ट टे«डिङले बीरगञ्ज नाकाबाट भित्र्याएको ६० मेट्रिक टन चिनी बिक्री हुनेमा शंका बढेको छ । ‘हामीले एक सय ६ रुपैयामा दिएर व्यापारीले एक सय दश रुपैयासम्ममा बिक्री गर्ने हो, प्रवन्धक चौधरीले भन्नुभयो, व्यापारीले यो भन्दा सस्तोमै चिनी पाइरहेको बताएका छन् । हाम्रो चिनी बिक्री हुन्छ कि हुँदैन ?’

सीमा क्षेत्रमा बिक्री हुने चिनी गुणस्तरहीन हुने चौधरीको भनाई छ । साल्ट टे«डिङले बेच्ने चिनी सल्फरलेस हुने भएकाले गुणस्तरीय हुन्छ । विगतमा साल्ट टे«डिङले ४ सय ६२ मेट्रिक टनसम्म चिनी बिक्री गरेपनि अहिले त्यो अवस्था देखिदैन । चिनीमा ढुवानी अनुदान दिइएको छैन । भाडा महंगो पर्ने गर्दछ । लागत मूल्यमा न्यूनतम नाफा लिएर बेच्ने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !