किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी


राप्तीसाेनारी – बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोलमल तथा जैविक मल सम्वन्धी तालिम दिन सुरु गरेको छ ।

कृषि शाखाका नायव प्राविधिक सहायक खड्क केसीका अनुसार, राप्तीसोनारी गाउँपालिका वडा नं.७ सर्राबाट तालिमको सुरुवात गरिएको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले तालिमको उद्घाटन गरेका थिए । त्यसक्रममा उनले झोल मलले बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्ने र रासायनिक मलको तुलनामा लागत खर्च पनि कम लाग्ने भएकाले किसानहरुलाई जैविक मल उत्पादनमा जोड  दिए । पछिल्लो समय बालिनालीमा बढ्दो विषादीको प्रयोगका कारण सुरक्षित खाद्य उत्पादन गर्नमा समेत चुनौती थपिएका बेला किसानहरुलाई यससम्वन्धी सचेत पार्नका लागि पनि यो तालिमको आवश्यकता रहेको उनको भनाइ छ । उनले भने–‘बाली उत्पादनको लागत घटाउनुका साथै वातावरण संरक्षण पनि गर्न सकिन्छ ।’

झोल मल गाईवस्तुको गोबर, पिसाब, असुरो, सिस्नु, तितेपाती, नीम र बकाइनो जस्ता विभिन्न वनस्पतिहरूबाट तयार पारिन्छ । रासायनिक मल तथा रासायनिक विषादीको सट्टामा झोल मल प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गर्न सकिने भएकाले यसको महत्व बढ्दै गएको वडा नं.७ का कार्यबाहक अध्यक्ष दिपबहादुर थारुले बताए । घरमै तयार गर्न सकिने झोल मल जैविक भएकाले किसानका राम्रो विकल्प हुने नायव प्राविधिक सहायक खड्क केसीले बताए । ९ वटै वडामा तालिम दिने तयारी पालिकाको छ । त्यसका लागि चालू आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरिएको केसीले बताए । तालिममा झोलमल तथा जैविक मल कसरी बनाउने ? यसका फाइदाहरु केके छन् ? यसको प्रयोग विधि, विषादि नियन्त्रणमा यसले पुर्याउने लाभ लगायतका बारेमा किसानहरुलाई जानकारी गराइने छ । दुई दिनसम्म चल्ने तालिममा कृषि प्राविधिक तथा विज्ञहरुले सहजीकरण गर्नेछन् ।


error: यो सुविधा उपलब्ध छैन !