जोखिमपूर्ण यात्रा : जमुनाहातिर जाँच, सुख्खा बन्दरगाहमा खुल्ला

नेपालगन्ज – नेपालगन्जलाई मानव बेचबिखनको जोखिमपूर्ण यात्रा गर्ने नाकाको रुपमा लिने गरिन्छ । सधैं नै भीडभाड हुने भएकाले दलालले यहाँबाट भारत तथा तेस्रो मुलुकमा कामका लागि भन्दै महिलालाई जोखिमपूर्ण यात्रामा लगिरहेको पाइन्छ ।
भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण काममा परेका र उद्धार गरी फिर्ता गरिएका (कतिपय आफै आएका) धेरैजसोले नेपालगन्ज नाका हुँदै भारत प्रवेश गरेको बताउने गर्दछन् । चलनचल्तीको नाका भएर पनि होला, यो नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने एक दर्जन संघ संस्थाको चेकपोष्ट रहेको छ ।
नेपालगन्जको अन्तिम नाका जमुनाहा पुग्नु अघि एक किलोमिटर यतैबाट संघ संस्थाले जोखिमपूर्ण यात्रामा निस्केको शंकास्पदलाई रोक्ने र सोधपुछ गर्ने गर्दछन् । संघ संस्थाको सोधपुछ चौलिक्का चोकबाट शुरु भएर दशगजामै गएर सकिन्छ । एक व्यक्तिलाई धेरै संघ संस्थाका प्रतिनिधिले सोधपुछ गरेको पनि देखिन्छ । यसका बाबजुद दलालले किशोरी, युवती, महिलालाई नाका पार गराएको पाइन्छ । भारतीय बजारमा किनमेल, उपचार, आफन्ती भेटघाटलगायतका नाममा जोखिमपूर्ण यात्रामा निस्केकालाई नाका पार गराउने गरिन्छ । सधैं नाकामा बसिरहेका संघ संस्थाका प्रतिनिधिले जोखिमपूर्ण यात्रामा निस्केका महिलालाई धेरै हदसम्म पहिचान गरेका हुन्छन् । भारतीय बजार रुपैडिहामा यस क्षेत्रकै मानिस किनमेल गर्न जाने र सधैं भीडभाड हुने भएकाले सबैलाई हेर्न सम्भव देखिदैन । संघ संंस्थाका प्रतिनिधिको पनि निश्चित समयमात्रै डिउटी हुन्छ ।
जमुनाहा नाकामा जिल्लाभरी नै मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाको चेकपोष्ट रहेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समितिले नेपालगन्ज नाकामा दुई वटा संस्था बस्ने र अरु अन्यत्र नाकामा बस्ने भनेपनि कार्यान्वयन भएको छैन । यतिका धेरै संघ संस्था बस्दा पनि बसमा यात्रा गर्नेको हकमा जाँच हुन सकेको छैन । सुख्खा बन्दरगाह हुँदै भारत प्रवेश गर्ने बसमा जो गएपनि न त प्रहरी, न संघ संस्थाको नै पहुँच हुन सकेको छ । नेपालगन्ज र दाङबाटै भारतको दिल्लीलगायत ठाउँमा बस जान्छन् । बुटवल र काठमाडौंबाट पनि कहिलेकाही यो नाकाबाट बस भारत गएको पाइन्छ । चौलिक्का भएर सुख्खा बन्दरगाह हुँदै भारतका विभिन्न शहरमा जाने बसमा कसैको ध्यान पुगेको छैन । भन्सार हुँदै जमुनाहा नाकामा सबै ध्यान गएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जमुनाहा नाका भएर जानेको हकमा प्रहरीसहित एक दर्जन संघ संस्थाले निगरानी गरेपनि सुख्खा बन्दरगाह हुँदै भारत जाने बसमा कसैको ध्यान नपुगेको बताउनुभयो ।
लामो समयदेखि मानव बेचबिखनविरुद्धमा काम गरेको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जमुनाहा हुँदै जानेको हकमा कडा निगरानी भएपनि सुख्खा बन्दरगाह हुँदै जाने बसमा निगरानी गर्न नसकिएको बताउनुभयो । उहाँले यो विषयमा जिल्ला समितिमा छलफल भइरहेको जानकारी दिनुभयो ।
कतिपय बसका कर्मचारीले शंकास्पद महिला चढेको देखेमा प्रहरी र संघ संस्थालाई खबर गर्ने गरेका छन् । संघ संस्थाले पनि नेपालगन्जको पुष्पलालचोक र चौलिक्कामा बसलाई रोकेर कहिलेकाही छड्ने गर्ने गर्दछ । तर, नियमित जाँच भने हुन सकेको छैन । राम्रो काम र दामका लागि भारत तथा तेस्रो मुलुकमा महिलालाई फकाएर लैजाने दलालले प्रहरी र संघ संस्था भन्दा धेरै जुक्ति लगाएको हुन्छ । कतिबेला बढी भीडभाड हुन्छ, कतिपय कुन संघ संस्थाका प्रतिनिधिको डिउटी सकिन्छ, के बहाना बनाएर नाका पार गर्ने दलालले अनेक जुक्ति लगाएको हुन्छ । कतिपय बेला भने सिन्धुपाल्चोक, नुवाकोटका महिला नेपालगन्ज नाका भएर रुपैडिहामा किनमेल गर्न जान थालेको बहाना बनाउदा फिर्ता पठाइएका छन् । आर्थिक वर्ष २०८०÷८१ म नेपालगन्ज नाका भएर भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण कामका लागि जान थालेका एक हजार ४ सय ४१ जनालाई नाकाबाट फिर्ता गरिएको छ । त्यसमध्ये माइती नेपालले ५ सय २६ जनालाई फिर्ता गरेको हो । कहाँ जाने, कसरी जाने, जाने ठाउँमा के काम गर्ने, कति पैसा पाइन्छ भन्नेसम्म थाहा नपाई हिडेकालाई नाकामा रोकेर परिवारका सदस्यलाई बोलाएर जिम्म लगाउने गरिन्छ ।

error: यो सुविधा उपलब्ध छैन !