लिलबहादुरको उदाहरणीय काम : अमेरिकामा बसेर नेपालमा सहयोग


नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. ४, डीगाउँका ५० वर्षीय लिलबहादुर थापा अमेरिकाको वासिङ्टन राज्यको पुलमेन सिटीस्थित ‘रिटार्मेन्ट सिनियर लिभिङ’मा काम गर्नुहुन्छ । बुढाबुढीको रेखदेख गर्ने र औषधी खुवाउने थापाको दैनिकी रहेको छ ।
थापाले सातै दिन दैनिक १६ घण्टाबढी काम गर्नुहुन्छ । तलव र अतिरिक्त गरेर मासिक नेपाली १५ लाख रुपैया कमाउनुहुन्छ । पछिल्लो पाँच वर्षदेखि थापाले आफ्नो कमाई नेपालका विभिन्न जिल्लाका दीनदुःखी, गरीव, असहाय, पीडितलाई सहयोग गर्दै आउनु भएको छ । थापाले घरबास नभएका अति नै गरीवको घर बनाइदिने गर्नु भएको छ । स्वास्थ्य समस्या भएका र उपचार खर्च नभएकालाई आर्थिक सहयोग गर्नु भएको छ । विपत्ति परेका या अपाङ्ता भएर खानाको अभाव भएकालाई रासन सहयोग गर्दै आउनु भएको छ ।
१७ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएका थापाले गृह जिल्ला बाँकेमा मात्रै होइन, दाङ, सुर्खेत, कैलाली, रुपन्देही, गुल्मी, बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा जिल्लामा पनि सहयोग गर्नु भएको छ ।


पाँच वर्षअघि एक दिन मोबाइल चलाइरहदा थापाले जीटीभी नेपालमा दीपक नेपालीले रिपोर्टिङ गरेको गुल्मीकी बसन्ती विकको समाचार हेर्नु भएछ । बसन्तीलाई गुल्मी जिल्लामा सुत्केरी गराउन नसकेको र आर्थिक समस्या भएको समाचार थियो, त्यो । समाचार हेरेपछि थापाले बसन्तीको सबै उपचार खर्च सहयोग गर्ने भन्दै सञ्चारकर्मी नेपालीलाई फोन गर्नुभएछ । थापाको आर्थिक सहयोगले बसन्तीलाई बुटवलमा ल्याइयो । बसन्तीले छोरा जन्माउनु भयो । थापाको सहयोगले बाँचेको र छोरा जन्मिएकोमा खुशी भएका बसन्तीको परिवारले छोराको नाम पनि राखिदिन थापालाई कर गरे । थापाले बसन्तीको छोराको नाम राखिदिए, सौगात । थापाले पछि बसन्तीको घरसमेत बनाइदिनु भयो ।
यहीबाट थापाको सहयोगको सिलसिला शुरु भएको रहेछ । त्यसपछि थापाले गुल्मीका महले जिसीको घर बनाइदिनुभयो । ४५ वर्ष भारतमा बसेर आएका महलेको केही नभएको थाहा पाएपछि थापाले उनको घर बनाइदिनु भएको रहेछ । बाग्लुङका जुना दमाई र चाउरे दमाई साहुले सम्पत्ति लगिदिएपछि ओढारमा बसेका रहेछन् । समाचारमा यो देखेपछि थापाले दमाई दम्पत्तिलाई जग्गा किनेर घर बनाइदिनु भयो । थापाले बाँके खजुराका लिलावती खत्रीको घर बनाइदिनु भएको छ । खजुराकै भीमबहादुर खत्रीको घर बनिरहेको छ । समस्या परेका दीनदुःखी, गरीव, असहाय, अपाङ्ता भएका व्यक्तिले बस्न र खान नपाएको थाहा पाउने वित्तिकै थापाले सहयोग गर्ने गर्नु भएको छ ।


थापा कुनै संघ संस्थामा आवद्ध हुनुहुँदैन । उहाँले आफ्नो कमाई सिधै पीडित या समस्या परेका व्यक्तिको हातमा दिने गर्नु भएको छ ।
१५ दिनअघि नेपाल आउनु भएका थापालाई अहिलेसम्म कति सहयोग गर्नु भयो त ? भन्ने जिज्ञासामा थापाले हाँसेर जवाफ दिनुभयो, तीन करोडजति भयो होला । पछिल्लो दिनमा त थापाले अमेरिकाबाट दैनिकजसो नै कोही न कोहीलाई पैसा पठाइरहनु भएको छ । थापाको विशेषता भनेको कुनै खान नपाएका गरीव छन् भने उसलाई वर्षभरी कै रासन दिने गर्नुहुन्छ ।
डीगाउँका गजबहादुर सिंजाली र कौशिला सिंजालीको साहिलो छोरा थापाले ५ कक्षासम्म गाउँकै नेरा आधारभुत स्कूल, ९ कक्षासम्म आदर्श मावि र दश कक्षा दाङको महेन्द्र मावि र प्लस टु राप्ती बबई क्याम्पसबाट गर्नुभयो । दिदी दिलसरी थापा र भिनाजु तारस थापासँग बसेर पढ्नु भएका थापालाई नेपाली सेनामा कार्यरत सानुबाबु गिरी र आइतराम गुरुङले कर गरेर डीभी भर्न लगेका रहेछन् । अन्तिम दिन गएर डीभी परेका थापालाई डीभी परेछ । डीभी पर्दा थापासँग सय रुपैया पनि थिएन, दिदीसँग मागेर लग्नु भएको थियो । थापालाई जसले लगेका थिए, उनीहरुलाई भने डीभी परेन । यी दुई जना साथीसँग अहिले पनि थापाको कुरा भइरहन्छ । उनीहरुले गर्दा नै थापा अहिले यो अवस्थामा रहेका छन् ।
५० वर्षका थापा अविवाहित हुनुहुन्छ । दिदी भिनाजुको घरमा बस्दा एक दुई ठाउँमा केटी हेर्न गएपनि विवाहको लगन जुरेको थिएन । अमेरिका गएपछि थापाले विवाहको मोह नै त्याग्नु भएको छ । ‘विवाहको प्रस्ताव त आइरहेको छ । अब विहे गर्ने कुरा मनबाट हटाइसकेको छु, थापाले भन्नुभयो, अब बाँकी जीवन यसरी नै समाजसेवा गरेर बिताउँछु ।’


नेपाल घरमा आएका थापालाई स्वागत र सम्मान गर्नेको भीड नै रहेको छ । सहयोग गरेकोसमेत भन्न नरुचाउने र मिडियामा आउन नचाहने थापालाई जिल्ला जिल्लाबाट बोलाएर हैरान पारेका छन् । थापाले दुई\दुई वर्षमा नेपाल आउने गर्नु भएको छ । घरमा आएको बेलामा यसरी नै स्वागत र सत्कार हुने गर्दछ । धेरै जिल्लामा सहयोग गरेको छु । सामाजिक सञ्जालबाट म नेपाल आएको थाहा पाएपछि हाम्रोतिर आउनु पर्यो भनेर फोन गर्नुहुन्छ । म जान भ्याउदिन, थापाले भन्नुभयो ।
दिल खोलेर सहयोग गर्ने थापालाई घरमा आएको बेलामा कार्यक्रमहरु गरेर आफ्ना समस्या राख्नेको पनि कमी छैन । कार्यक्रममा पुगेपछि थापाले आफूले सक्दो सहयोग गर्ने बचन दिने गर्नु भएको छ । केही वर्ष अमेरिकामा बसेपछि नेपाल फर्किने सोच बनाउनु भएका थापाले सहयोगको अभियान चलाउनु अघि नै आफ्ना लागि ८ करोडबढीको सम्पति जोड्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !